फोरम लोकतान्त्रिकका लक्ष्मण थारु भैरहवाबाट नियन्त्रणमा

भैरहवा  । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का केन्द्रीय सदस्य लक्ष्मण थारुलाई प्रहरीले बुधबार बिहान भैरहवाबाट नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाए अनुसार कैलालीको टीकापुर घटनाबारे सोधपुछ गर्न कैलाली प्रहरीको अनुरोधमा उनलाई नियन्त्रणमा लिइएको हो ।
थारुलाई कैलाली चलान गरिएको जनाइएको छ । भैरहवास्थित फोरम लोकतान्त्रिकको कार्यालयबाटै थारुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
थारु माओवादीका पूर्वलडाकू कमाण्डरसमेत हुन् । पछिल्लो समय उनी फोरम लोकतान्त्रिक पार्टीमा सक्रिय थिए ।
थरुहट आन्दोलनका क्रममा उनले कैलाली जिल्लाको कमाण्ड सम्हालेको भन्दै कैलाली प्रहरीले उनीमाथि टिकापुर घटनाका बारेमा सोधपुछ गर्न चाहेको हो ।
कैलाली प्रहरीको खोजी सूचीमा रहेका थारु भैरहवा आएको सूचना पाएपछि रुपन्देही प्रहरीले उनलाई फेला पारेर नियन्त्रणमा लिएको हो । इमेजखबरमा समाचार छ ।