महोत्तरी । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर महोत्तरीमा सेना परिचालन गरिएको छ ।
जिल्लाको स्थिति बिग्रँदै गएपछि शान्ति सुरक्षा कायम गर्न विहीबारदेखि नेपाली सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीमा बसेको सुरक्षा निकायको बैठकबाट सेना परिचालन गर्ने निर्णय गरिएको हो ।
यसैबीच, मधेसी मोर्चाका कार्यकर्ताले बुधबार राति महोत्तरीको इलाका प्रहरी कार्यालय बलवा र मनरा प्रहरीचौकीमा आगजनी गरेका छन् ।
स्थानीय प्रशासनले जलेश्वर नगर क्षेत्रमा बुधबार राति ८ बजेदेखि लगाएको कर्फ्यु पनि जारी नै छ । कर्फ्यु र सेना परिचालनसँगै जलेश्वरलगायत आसपासको बजार सुनसान बनेको छ ।
प्रशासनले नगरपालिका क्षेत्रमा सर्वसाधारणलाई घर बाहिर ननिस्कन माइकिङसमेत गरेको छ । इमेजखबरमा समाचार छ ।