घोराहीमा घाइतेको उद्दार गर्न गएका प्रहरीको कारको ठक्करबाट मृत्यु, अर्का जवान गम्भिर घाईते

घोराही । पूर्वपश्चिम राजमार्गको सुरक्षार्थ खटिएका एक प्रहरी जवानको कारको ठक्करबाट मृत्यु भएको छ । अर्का जवान गम्भिर घाईते भएका छन् ।
सो गाडीमा सवार नबिन के.सीका अनुसार  लमही नगरपालिका १ नर्तीमा बिहिबार राति बा १० च ५२३१ नम्वरको टाटा सुमो कारको ठक्करले दाङ वडा प्रहरी कार्यालय लमहीमा कार्यरत दाङ डुरुवा गाविस ९ निवासी २७ वर्षीय जवान जीतराम चौधरीको घटना स्थलमै मृत्यु भएको हो ।
सोही कारको ठक्करबाट राजपुर गाविस ५ निवासी २८ वषिर्य प्रहरी जवान चन्द्र भण्डारी गम्भिर घाईते भएका छन् । भण्डारीको कोहलपुरमा उपचार भैरहेको छ । भालुवाङबाट लमही तर्फ तीब्र गतिमा जाँदै गरेको कारले सडक छेउमा रहेका प्रहरी जवानहरुलाई ठक्कर दिएको थियो ।
राति १२ बजे नर्तीमा रा २ प ४३७३ नम्बरको मोटरसाईकल चालकलाई अपरिचित व्यक्तिहरुले रोकेर कुटपिट गर्न थालेपछि सुरक्षाका लागि वडा प्रहरी कार्यालय लमहीका प्रहरी त्यहाँ पुगेको र घाईते व्यक्तिको उद्धारका क्रममा सो कारले ठक्कर दिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख, प्रहरी निरीक्षक लक्ष्मणबहादुर शाहिले जानकारी दिए ।
मोटरसाईक चालकको टाउकोमा गम्भिर चोट लागेको प्रहरीले बताएको छ । उनको नाम ठेगाना खुल्न सकेको छैन । उनलार्इ उपचारका लागि नेपालगञ्ज लगिएको छ ।
प्रहरीले ठक्कर दिने उक्त कारलाई लमही नगरपालिका १० देउपुरको गाउँमा फेला पारेको छ भने चालक फरार रहेको बताएको छ ।
थारुहरुको जातिय संगठनले आहृवान गरेको बन्दलाई राजमार्गमा हुन सक्ने घटनालाई मध्यनजर गर्दै प्रहरी सुरक्षामा खटिएका थिए ।