संविधान निर्माणको जारी प्रक्रिया दुई दिनका लागि रोक्न तीन दल सहमत भएका छन् । आइतबार ११ बजेसम्मका लागि संविधानसभाको मतदान प्रक्रिया स्थगित गर्ने निर्णय आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले गरेको एमाओवादी नेता नारायणकाजी श्रेष्ठले बताए ।
कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेता संलग्न बैठक लामो चलेको थियो । नेताहरुले आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गर्नुहुन्छ । लिखित रुपमा बोलाउने कि कसरी गर्ने भन्ने छलफल भइरहेको छ । संविधान सभा बैठक आइतबार ११ बजे बस्छ, बैठकमा सहभागी कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले बताए ।
असन्तुष्ट दलहरुसँग वार्ताका लागि संविधान निर्माणको जारी प्रक्रिया रोक्ने कि नरोक्ने भन्ने विषयमा अहिले तीन दलको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको बैठकमा कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरु सहभागी छन् ।
प्रक्रियामा गएको खण्डमा संविधान विधेयकमाथि आजदेखि मतदान हुने कार्यक्रम छ । फोरम, तमलोपा, सद्भावना र तमसपाको मधेशी मोर्चा र विजय गच्छदार नेतृत्वको अर्को मोर्चा दुवैले संविधान निर्माणको प्रक्रिया रोक्न माग गरेका छन् ।
बिहीबार एमाओवादीले आवश्यक परे एक-दुई दिनलाई प्रक्रिया रोक्न सकिने बताएको थियो । कांग्रेसभित्र पनि मधेशी सभासद्हरुले प्रक्रिया रोकेर वार्ता गर्न आग्रह गर्दै आएका छन् । ईकान्तिपुरमा समाचार छ ।