नवलपरासी । थरुहट संघर्ष समिति नवलपरासीले आइतबार नवलपुर क्षेत्रका १२ वटा स्थानीय निकायमा तालाबन्दी गरेको छ ।
थरुहटका कार्यकर्ताहरुले सो क्षेत्रमा रहेका ६ वटा गाविस र तीनवटा नगरपालिकाका ६ वटा संयुक्त वडा कार्यालयमा कर्मचारीहरुलाई बाहिर निकालेर तालाबन्दी गरेका हुन ।
संघर्ष समितिका अध्यक्ष गणेश महतोका अनुसार स्थानीय निकाय ठप्प पार्र्ने केन्द्रीय समितिको निर्णय अनुसार गाविस र नगरपालिकाका वडा कार्यालयहरुमा तालाबन्दी गरिएको हो ।
तालबन्दी गरेका गाविसमा तमसरीया, नारायणी, कोल्हुवा, कुमारवर्ती, प्रसौनी र रजहर छन् । त्यस्तै तालाबन्दी गरेका नगरपालिकाका वडा कार्यालयहरुमा कावासोतीको अग्यौली, पुरानो कावासोती र पिठौली छन् ।
गैंडाकोट नगरपालिकाको अमरापुरी, पुरानो गैंडाकोट र देवचुली नगरपालिकाको दिव्यपुरी वडा कार्यालयमा पनि तालबन्दी गरिएको छ ।
परासी र नवलपुर क्षेत्रमा गरि नवलपरासीमा ६ नगरपालिका र ५९ गाविस छन् । जसअन्र्तगत परासी क्षेत्रमा तीन नगरपालिका र २७ गाविस छन् भने नवलपुर क्षेत्रमा तीन नगरपालिका र ३२ गाविस छन् ।
बन्द र हड्तालको कार्यक्रमलाई परिवर्तन गरेको संघर्ष समितिले जनजागरण कार्यक्रमसँगै स्थानीय निकाय ठप्प पार्ने कार्यक्रम अनुसार तालाबन्दी गरिएको महतोले बताए । तालबन्दी कार्यक्रम ३१ गतेसम्म जारी रहने छ । इमेजखबरमा समाचार छ ।