राजसंस्थाको माग बहुमतले अस्वीकृत ! नयाँ संविधानअनुसार एक पटक प्रधानमन्त्री भएपछि कम्तीमा दुई वर्षसम्म प्रधानमन्त्रीको कुर्सी सुरक्षित रहने

काठमाडौं । नयाँ संविधानअनुसार एक पटक प्रधानमन्त्री भएपछि कम्तीमा दुई वर्षसम्म प्रधानमन्त्रीको कुर्सी सुरक्षित रहने भएको छ ।
नयाँ संविधानको धारा १०० को उपधारा ४ मा प्रधानमन्त्री नियुक्त भएको पहिलो दुई वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाउने व्यवस्था गरिएपछि एक पटक बनेको सरकार कम्तीमा दुई वर्षसम्म रहने निश्चित भएको छ । दुई वर्षपछि राखिएको अविश्वासको प्रस्ताव असफल भएमा भने त्यसको १ वर्षपछि फेरि अविश्वासको प्रस्ताव राख्न सकिने व्यवस्था संविधानमा गरिएको छ । अविश्वासको प्रस्ताव पेश गर्दा प्रधानमन्त्रीका लागि प्रस्तावित सदस्यको नाम समेत उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ ।
राष्ट्रिय जनमोर्चाका सभासद चित्रबहादुर केसी लगायतले प्रधानमन्त्री नियुक्त भएको ६ महिना भित्रै अविश्वासको प्रस्ताव राख्न पाउनुपर्ने संसोधन प्रस्ताव राखेका भए पनि सो प्रस्ताव अस्वीकृत भएको थियो ।
नयाँ संविधानको परिमार्जित विधेयकको धारा १०० को विश्वासको मत र अविश्वासको प्रस्ताव सम्बन्धी व्यवस्थामा यस्तो उल्लेख गरिएको छ ।
विश्वासको मत र अविश्वासको प्रस्ताव सम्बन्धी व्यवस्था :
(१) प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्न सक्नेछ ।
(२) प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नु पर्नेछ ।
(३) उपधारा (१) र (२) बमोजिम पेश भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुनेछ ।
(४) प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्यहरू मध्ये एक चौथाइ सदस्यले प्रधानमन्त्रीमाथि सदनको विश्वास छैन भनी लिखित रूपमा अविश्वासको प्रस्ताव पेश गर्न सक्नेछन् ।
तर प्रधानमन्त्री नियुक्त भएको पहिलो दुई वर्षसम्म र एक पटक राखेको अविश्वासको प्रस्ताव असफल भएको अर्को एक वर्ष भित्र अविश्वासको प्रस्ताव पेश गर्न सकिने छैन ।
(५) उपधारा (४) बमोजिम अविश्वासको प्रस्ताव पेश गर्दा प्रधानमन्त्रीका लागि प्रस्तावित सदस्यको नाम समेत उल्लेख गरेको हुनु पर्नेछ ।
(६) उपधारा (४) बमोजिम पेश भएको अविश्वासको प्रस्ताव प्रतिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भएमा प्रधानमन्त्री पदमुक्त हुनेछ ।
(७) उपधारा (६) बमोजिम अविश्वासको प्रस्ताव पारित भई प्रधानमन्त्रीको पद रिक्त भएमा उपधारा (५) बमोजिम प्रस्ताव गरिएको प्रतिनिधि सभा सदस्यलाई राष्ट्रपतिले धारा ७६ बमोजिम प्रधानमन्त्री नियुक्त गर्नेछ । इमेजखबरमा समाचार छ । 
राजसंस्थाको माग बहुमतले अस्वीकृत
नेपालको संविधानको परिमार्जित धारा ६१ मा रहेको राष्ट्रपतिको सट्टा राजा राख्नुपर्ने माग गरी राप्रपा नेपालका सभासद कमल थापाले पेश गरेको संशोधन प्रस्ताव बहुमतले अस्वीकार गरेको छ।
धारा ६१ मा राष्टपतिको सट्टा राष्टिय एकताको प्रतिकका रुपमा राजसंस्था रहनु पर्ने प्रस्ताव सदनको बहुमतले अस्विकृत गर्यो। सभाध्यक्षले थापाको प्रस्ताव अस्विकृत भएको घोषणा गरेपछि थापाले उठेर नियमावलीको धारा ४२ अनुसार मत विभाजन माग गरेपछि अध्यक्षले थापाको पक्षमा रहेका सदस्य उभिन निर्देशन दिए। थापाको समर्थनमा २५ जना सदस्य उभिएको भन्दै नियम अनुसार मतविभाजनको आधारमा ६१ सदस्य नभएको भन्दै मतविभाजनको माग अस्वीकार गरे।
यस्तो छ धारा ६१
६१. राष्ट्रपति :  (१) नेपालमा एक राष्ट्रपति रहनेछ।
(२) राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुनेछ। निजले यस संविधान र संघीय कानून
बमोजिम आफ्नो कार्य सम्पादन गर्नेछ।
(३) राष्ट्रपतिलेनेपालको राष्ट्रिय एकताको प्रवर्धन गर्नेछ।
(४) संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ।
कमल थापाले राखेको संशोधन प्रस्ताव
उपधारा १ देखि ४ को सट्टामा देहाय बमोजिम कायम गर्नेः
राजसंस्था :  यस संविधानमा राजसंस्था भन्नाले श्री ५ लाई जनाउने छ। श्री ५ भन्ने शब्दले श्री ५ बडामहाराजाधिराज, पृथ्व्ाीनारायण शाहका वंशज, आर्य संस्कृतिका अनुयायी, हिन्दु धर्मावलम्वी, गद्दीनसीन श्री ५ महाराजाधिराजलाई सम्बोधन गरेको सम्झनुपर्छ। सेतोपाटीमा समाचार छ ।