राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले नयाँ संविधानलाई आलोचनात्मक समर्थन गर्ने भएको छ। बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिले संविधानलाई आलोचनात्मक समर्थन गर्ने निर्णय गरेको हो ।
प्रजातान्त्रिक मुल्य मान्यता र आदर्श प्रति प्रतिवद्ध रहंदै नेपालको संबिधान, २०७२ लाई राप्रपा नेपालले आलोचनात्मक समर्थन गर्ने छ। अपबित्र गठवन्धनको आधारमा संबिधानमा समेटिएका कतिपय बिरोधाभाषपुर्ण अन्तर्वस्तुका कारण मुलुक लामो अस्थिरता र अराजकताको भुमरीमा पर्न सक्ने खतरा तर्फ सचेत रहन समेत हामी सबै राजनैतिक शक्तिहरुमा आग्रह गर्दछौं, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।
आफ्नो एजेन्डा संविधानमा नपरे पनि मुलुकको सामाजिक, आर्थिक र राजनैतिक रुपान्तरणको निमित्त राप्रपा नेपाल अझ बढि उत्साहका साथ क्रियाशील रहने निर्णय उक्त बैठकले गरेको छ। साथै हिन्दु राष्ट्र स्थापना र हिन्दुत्वको संरक्षणका लागि पार्टी सदैव क्रियाशिल रहने निर्णय भएको पनि विज्ञप्तिमा जनाइएको छ।
मधेश आन्दोलनका क्रममा भएको हिंसा र प्रशासनिक दमनको विरोध गर्दै आन्दोलनरत दलहरुसँग वार्ता गरी समस्या समाधान गर्न माग गरेको छ। सेतोपाटीमा समाचार छ ।