काठमाडौं । नेपालको संविधान २०७२ असोज ३ गते आइतबार भव्य समारोहबीच घोषणा गरिँदै छ । संविधानसभा भवन नयाँ बानेश्वरमा आइतबार अपराह्न ५ बजे हुने विशेष समारोहमा राष्ट्रपति डाक्टर रामवरण यादवले संविधान घोषणा गर्ने कार्यक्रम छ ।
संविघान घोषणा समारोहमा सहभागी हुन विभिन्न क्षेत्रका व्यक्तिहरुलाई आमन्त्रण गरिएको छ । विभिन्न राजनीतिक दलका नेता, संवैधानिक निकायका प्रमुख, कुटनीतिक नियोगका अधिकारी, पूर्वसभासद्लगायतलाई घोषणासभामा सहभागी हुन आमन्त्रण गरिएको संविधानसभा सचिवालयले जनाएको छ ।
यसअघि संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले हिजो नेपालको संविधान २०७२ को प्रमाणीकरण गरे । सबै दलका शीर्ष नेताको उपस्थितिमा सभाध्यक्ष नेम्बाङले संविधान प्रमाणीकरण गरेका हुन ।
संविधानसभाका अध्यक्ष, उपाध्यक्ष एवं सभासदहरुले संविधानको प्रतिमा हस्ताक्षर गरेसँगै प्रमाणीकरणको काम सम्पन्न भएको हो । त्यसअघि ५ सय ३७ जना सभासदले संविधानमा हस्ताक्षर गरेका थिए । इमेजखबरमा समाचार छ ।