संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले मधेसी, थारु, जनजाति लगायतका असन्तुष्ट पक्षको माग सम्बोधन नगरी संविधान आएकोमा नाचगान र दीपावली मनाइहाल्नु नपर्ने तर्क गरेका छन् । संविधान आएकोमा मुलभूत रुपमा खुसी रहे पनि दिपावली नै गर्नुपर्ने अवस्था नरहेको बताए ।
एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईले संविधान जारी हुन लागेकोमा आफू मूल रूपमा खुसी र आंशिक रुपमा असन्तुष्ट रहेको बताएका छन्। काभ्रेको पहरी गाउँमा हाँस्य कलाकारद्धय सीताराम कट्टेल र कुन्जना घिमिरको जोडीले निर्माण गरेको धुर्मुस-सुन्तली एकीकृत नमुना वस्ती निरीक्षण पछि उनले संविधान आउन लागेकोमा आफू मूल रुपमा खुसी रहेको र आंशिक रुपमा अझै नाचगान गर्ने बेला आइनसकेको बताए।
संविधानसभा २००७ सालमा पहिलो पटक नेपाली राजनीतिमा छिर्यो, भट्टराईले भने १४ सालपछि राजा महेन्द्रले अपहरण गरे। विपी कोइराला जस्तो देशको एक महान व्यक्तिले त्यसलाई कार्यान्वयन गर्न सक्नुभएन। पछिल्लो चरणमा आएर कांग्रेस र कम्युनिष्ट दुवैले यो योजनालाई पछि पारे। ४६ सालपछि नयाँ पुस्ता आइसकेपछि संविधानसभाको निर्वाचन गरौं भन्ने मुद्दा हामीले उठाएका थियौं। तर हाम्रो आवाज त्यत्तिवेला ठूलो हुन सकेन। त्यसपछि फेरि संविधान बन्यो। त्यो संविधानले समस्या ल्याएर दुर्घटना गरायो। पछि हामीले नै माओवादीकै तर्फबाट विशेष गरी मैले नै जोडका साथ उठाएर संविधानसभा चाहि राष्ट्रिय एजेण्डा बन्यो।
पहिले संविधानसभाबाट संविधान बनाउन नसकेपनि पाठ सिकेर दोस्रो संविधानसभाबाट संविधान बनाएको बताउँदै उनले नेपाली युगिन परिवर्तनको एउटा संघार भएको हुनाले त्यसमा आफू अत्यन्त सुसीको अनुभूति गरिरहेको बताए।
नेपालको जो एउटा ठूलो तराई मधेस, थारु र जनजातिका कयौं मुद्दा सम्बोधन नभएका कारण आफूले असन्तुट जनाएको उनले सुनाए।
तराई मधेस अत्यन्त संवेशनशिल क्षेत्र पनि हो। त्यहाँका जनतालाई पनि विश्वासमा लिएर संविधान बनाउन सक्नुपर्थ्यो। हामीले त्यो सकेनौं। त्यो असन्तुष्टिलाई छिटो सम्बोधन गर्यौ भने त्यसपछि साच्चिकै दीपावली गर्ने अवस्था आउँछ, भट्टराइले भने, अहिले नै बढी नाचगान गर्नुभन्दा पनि यसलाई सकारात्मक ढंगले लिँदै देशका सबै दाजुभाई दिदी बहिनीको सहयोग र समर्थन जुटाएर अघि बढ्नुपर्छ।
संविधान राष्ट्रपतिबाट जारी गर्ने विषयमा पनि विवाद भयो नि भन्ने प्रश्नमा भट्टराईले भने, कसले संविधान जारी गर्ने भन्ने विषयमा विवाद गर्न नहुने हो, अन्तरिम संविधानले राष्ट्रपतिलाई भूमिका नदिएपनि त्यसलाई सच्चाएर राष्ट्रपतिको स्थान हामीले दिएका छौं, उनले भने यस विषयलाई त्यत्ति ठूलो विवाद बनाउन म आवश्यक ठान्दिनँ।
२४ घन्टा भित्र देशको अखण्डताका विषयलाई ट्वीट गरेको प्रसंगमा नेता भट्टराईले २ अढाइ वर्षको उपलब्धि मुलुक जोगाउन सक्छौं कि सक्तैनौ भन्ने मनसायले त्यो धारणा आएको सुनाए।