संविधान घोषणा भएको भोलिपल्ट प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रतीक प्रधानले भारतीय दबावका कारण पदबाट राजीनामा दिए

काठमाडौं । संविधान घोषणा भएको भोलिपल्ट प्रधानमन्त्री सुशील कोइरालाका प्रेस सल्लाहकार प्रतीक प्रधानले भारतीय दबावका कारण पदबाट राजीनामा दिएका छन् ।
प्रधानको राजीनामा प्रधानमन्त्रीले सोमबार नै स्वीकृत गरेका छन् ।
संविधान निर्माणमा भारतको ठाडो हस्तक्षेपलाई लिएर प्रधानले रिपब्लिका दैनिकमा लेख लेखेका थिए । पाँच दिनअघि रङ एड्भाइस शीर्षकमा प्रकाशित लेखमा नेपालको संविधान निर्माणका सन्दर्भमा भारतीय भूमिकाको खरो आलोचना गरिएको थियो ।
सोही लेखलाई लिएर भारतीय पक्षले प्रधामन्त्री कोइरालालाई दबाव दिएको स्रोतको भनाइ छ । विदेशी दबाव झेल्न नसकेपछि प्रधानमन्त्रीले आफ्ना सल्लाहकारलाई राजनीनामा लेख्न लगाएको स्रोतले बतायो ।
तर, प्रधानले भने प्रधानमन्त्री कोइरालालाई सजिलो पार्न आफैंले राजीनामा दिएको अनलाइनखबरलाई बताए । उनले भने, प्रधानमन्त्रीलाई आन्तरिक र बाह्य दबाव आएको बुझेरै राजीनामा दिएको हुँ ।

राजीनामापछि प्रधानले ट्विट गर्दै आफ्नो वैचारिक स्वतन्त्रताको रक्षा गर्न राजीनामा गरेको बताएका छन् । पत्रकार प्रधान केही महिना अगाडिमात्रै प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त भएका थिए । अन्लाईनखबरमा समाचार छ ।