संयुक्त राष्ट्रसंघको मानव अधिकारसम्बन्धी उच्च आयुक्त कार्यालय (ओएचसिएचआर) ले तराई क्षेत्रमा भएको हिंसात्मक आन्दोलन रोकी वार्ताबाट समस्याको समाधान खोज्न सबै पक्षलाई आग्रह गरेको छ।
ओएचसिएचआरका प्रवक्ता रुपर्ट कोल्भिलले बुधबार विज्ञप्ति निकालेर नयाँ संविधान जारी भएसँगै नेपाल शान्ति प्रक्रियाको महत्वपूर्ण विन्दुमा पुगेको बताउँदै भर्खरै द्वन्द्वबाट बाहिर निस्केको मुलुकमा पुनः हिंसात्मक अवस्था हुनु गम्भीर हुने बताएका छन्। उनले वार्ताबाट समस्याको समाधान गर्न पनि सबै पक्षलाई आह्वान गरेका छन्।
आन्दोलनका क्रममा सुरक्षा निकायबाट अत्याधिक बल प्रयोग भएको कुरा नेपालको मानव अधिकार आयोगले पनि बताएको उल्लेख गर्दै ओएचसिएचआरले आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाको स्वतन्त्र र निष्पक्ष छानविन हुनु पर्ने आयोगको कुरालाई समर्थन गरेको बताएको छ। आन्दोलनका क्रममा मानवअधिकारकर्मी, पत्रकारमाथि भएको आक्रमण र सरकारी सम्पत्तिमाथि भएको क्षति बारे हाम्रो ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ।
कोल्भिलले अभिव्यक्ति स्वतन्त्रता, संगठित हुने तथा शान्तिपूर्ण रुपमा भेला हुने कुरा प्रजातन्त्रका आधारभूत मान्यता भएको बताउँदै नेपाल सरकारलाई अल्पसंख्यक र असन्तुष्ट पक्षसँग वार्ताको वातावरण बनाउन पनि आग्रह गरेका छन्।
कोल्भिलले आन्दोलनरत नेताहरूलाई आन्दोलन शान्तिपूर्ण बनाउन र उनीहरूका कार्यकर्तालाई आन्दोलनमा लठ्ठी, बन्दुक र घरेलु हतियार लिएर नजान र सरकारी सम्पत्तिमा आक्रमण नगर्न जोड दिएका छन्। सेतोपाटीमा समाचार छ ।