संविधानको विरोध गर्दै आन्दोलनमा उत्रिएका मधेसी दलहरुसँग ठोस वार्ताको पहल गर्न प्रमुख तीन दल सक्रिय

 संविधानको विरोध गर्दै आन्दोलनमा उत्रिएका मधेसी दलहरुसँग ठोस वार्ताको पहल गर्न प्रमुख तीन दलले सक्रियता बढाएका छन् ।
प्रधानमन्त्री निवास बालुटारमा बिहीबार बसेको नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरुको बैठकले आन्दोलन छाडेर वार्तामा आउन आन्दोलनरत दलहरुलाई आग्रह गरेको छ ।
बैठकमा संविधान जारी भएपछिको मुलुकको समीक्षा र भारतीय पक्षका सुझावका विषयमा छलफल भएको थियो ।
भारतले नाकाबन्दी गर्ने, पाइपलाइन बन्द गर्ने जस्ता विषय सार्वजनिक भइरहेको सन्दर्भमा समेत बैठकमा छलफल भएको र त्यस्तो हुन नदिने तर्फ पहल गर्ने सहमति भएको बैठकपछि नेताहरुले बताएका छन् ।
बैठकले संविधान जारी भएपछि सकारात्मक सन्देश लिएर कार्यकर्ताहरुलाई गाउँगाउँमा पठाउन निर्देशन दिने निर्णय पनि गरेको छ ।
तीन दलका शीर्ष नेताहरुको बैठक अपराह्न पनि बस्ने भएको छ । बैठकले आन्दोलनरत मधेसी, थारुलगायतका समुदायका माग सम्बोधन गर्ने विषयमा ठोस प्रस्ताव तयार गर्ने बताइएको छ । इमेजखबरमा समाचार छ ।