भारतको नाकाबन्दी पछि देशभर पेट्रोलियम पदार्थको हाहकार भएको छ ।
भारतले अघोषित नाकाबन्दी लगाएपछि नेपाल आयल निगमले स्टक तेल वितरणका लागि कोटा निर्धारण गरेको छ। भारतबाट पाँच दिनदेखि निरन्तर रुपमा तेल नेपाल आउन नसकेपछि निगमले भएको स्टकलाई व्यवस्थित गर्न कोटा निर्धारण गरेको हो। निगम व्यवस्थापकको निर्णयले भोलि (सोमबार) देखि तोकिएको कोटालाई कडाइका साथ लागू गर्ने भएको छ।
निगमले भएको स्टकलाई व्यवस्थित र आवश्यकता अनुसार वितरण गर्ने उद्देश्यले कोटा निर्धारण गरेको हो। जति स्टक छ, त्यसलाई तोकिएको कोटा अनुसार वितरण हुन्छ, निगमका प्रवक्ता दीपक बरालले नागरिकन्युजसँग भने, निगम व्यवस्थापनले सबै खाले सवारी साधनलाई तेलको कोटा तोकेको हो । नागरिकन्युजमा समाचार छ ।
ग्यास पनि अभाव
पेट्रोल डिजेलजस्तो ग्याँसको स्टक निगमसँग हुँदैन । बुलेटमा आउनासाथ सिलिन्डरमा हालेर ग्यास उद्योगहरुलाई ग्यास दिइन्छ । यसैले ग्यासको स्टक उद्योगहरुसँग हुन्छ । पेट्रोलसँगै ग्यासका बुलेटहरु पनि नआएकाले ग्यासको अभाव भएको छ ।
आन्तरिक हवाई उडानका लागि १ महिना पुग्ने इन्धन
पेट्रोल, डिजल र ग्यासमा अभाव भएपनि आन्तरिक उडानका लागि करिब १ महिनालाई पुग्ने हवाई इन्धन स्टकमा रहेको आयल निगमले जनाएको छ । निगमका इन्जिनियर प्रदीप यादवका अनुसार दसैंसम्मलाई पुग्ने इन्धन निगमसँग छ ।
आन्तरिक उडानहरुका लागि हामीलाई दैनिक ५० किलोलिटर हवाई इन्धन चाहिन्छ, हामीसँग १५ सय किलोलिटर हवाई इन्धन छ, यादवले भने । उनका अनुसार अन्तर्राष्ट्रिय उडानमा ट्रान्जिटमा आउने जहाजका लागि भने १ सातालाई पनि नपुग्ने इन्धन निगमसँग छ । ट्रान्जिटका रुपमा इन्धन हाल्ने अन्तराष्ट्रिय उडनमा दिनको २ सय ५० किलोलिटर खपत हुन्छ, हामीसँग ९०० किलोलिटर मात्रै छ, उनले भने । ईकान्तिपुरमा समाचार छ ।
भारतको नाकाबन्दीले भूकम्पमा समेत नभएको औषधिको अभाव
नेपालमा हालै आएको विध्वंसकारी भूकम्पका समयमा पनि बिरामी र भूकम्पपीडितलाई औषधिको अभाव हुन नदिए पनि हालै भारतले गरेको नाकाबन्दी र मधेसमा चलिरहेको ५० दिन लामो बन्दका कारण देशमा औषधि आपूर्तिको समस्या उत्पन्न भएको नेपाल औषधि व्यवसायी सङ्घले बताएको छ।
वाणिज्य विभागका महानिर्देशक शम्भूप्रसाद कोइरालाले भारतबाट औषधि बोकेको ट्रक हिँड्न नसकेको कारण ४२ दिनदेखि औषधिको आपूर्ति हुन नसकिरहेको बताउदै यो असहजस्थितिलाई सरकार,औषधि व्यवसायी तथा उपभोक्ता सबै मिलेर पार लगाउनुपर्नेमा जोड दिए।
संघका केन्द्रीय अध्यक्ष मृगेन्द्रबहादुर श्रेष्ठले नेपालमा बर्षेनी रु २० अर्वको औषधि खपत हुने गरेको जानकारी दिए। नेपालभर छरिएर रहेका झन्डै २८ हजार औषधि पसलबाट वार्षिक रु २० अर्बभन्दा बढीको औषधिको कारोबार हुने गरेको जानकारी कार्यक्रममा गराइयो। नेपालमा बिक्री भइरहेका ९० प्रतिशत औषधि भारतमा भन्दा सस्तो रहेको उनीहरुको दाबी छ ।
रजत जयन्ती समारोहको उद्घाटन गर्दै स्वास्थ्य मन्त्री खगराज अधिकारीले उपभोक्तासम्म पुग्नुपर्ने औषधिजस्तो संवेदनशील वस्तुमा औषधि व्यवसायी, उत्पादक तथा वितरक गम्भीर हुनुपर्ने औँल्याउँदै हाम्रो सामूहिक प्रयासबाट मात्र गुणस्तरीय स्वास्थ्य सेवा दिन हामी सफल हुने बताए। रासस