विप्लप माओवादीले भारतीय चलचित्र, विज्ञापन, टेलिभिजन च्यानल, भारतीय प्लेट गाडीमा रोक लगाउने

 भारतले नेपाललाई गरेको अघोषित नाकाबन्दी विरुद्ध विप्लप नेतृत्वको नेकपा माओवादीले आन्दोलन गर्ने भएको छ। नेकपा माओवादीका प्रवक्ता प्रकाण्डले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्।
आन्दोलनका कार्यक्रम अनुसार नेकपा माओवादीले सोमबारबाट नेपालभित्र कुनै पनि भारतीय नम्बर प्लेटको गाडी चल्न नदिने भएको छ। यस्तै भारतीय चलचित्र र विज्ञापनसमेत बन्द गर्ने, भारतीय टेलिभिजन च्यानलमा रोक लगाउने लगायतका विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।
यस्तै भारतले नाकाबन्दी लगाएको कारण आपूर्ति व्यवस्थामा असहजता उत्पन्न भएकाले बैकल्पिक आपूर्ति व्यवस्थाको लागि पहल गर्ने, कृत्रिम अभाव सिर्जना गर्नेमाथि कारबाही गरी आन्तरिक आपूर्तिलाई सहज बनाउने र नाकाबन्दीका विरुद्ध विरोध प्रदर्शन गर्ने कार्यक्रम नेकपा माओवादीले सार्वजनिक गरेको छ।
केही दिनमा आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने नेकपा माओवादीका प्रवक्ता प्रकाण्डले बताएका छन्। नेपालको संविधान संशोधन गर्न भारतले सुझाव दिएको विषय कोट्याउदै उनले भने, नेपालको संविधानले जनताका अधिकार सुरक्षित गर्न सकेको छैन तर, नेपाली जनताको राजनीतिक अधिकार माथि भारतलाई प्रश्न उठाउने अधिकार छैन।
नेपाल सधै स्वतन्त्र र स्वाधिन रहँदै आएको र भारतले यसमा प्रश्न उठाएमा आफ्नो पार्टी राष्ट्रिय मुक्ति युद्ध लड्न समेत तयार भएको उनले बताए। नेपालमा आएर मोदीले मिठो कुरा गरेर नेपालीको मन जित्ने प्रयास गरेको भए पनि अहिले मोदीको प्रजातन्त्रको मुकुण्डो उघ्रिएको उनले बताए।
नेकपा माओवादीले आइतबार शान्तिबाटीका बाट भारत विरोधि प्रदर्शन सुरु गरी  नेपालीस्थित भारतीय प्रतिनिधिमुलक कार्यालयका अगाडी पनि भारत विरोधि प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेको हो।
पत्रकार सम्मेलनमा प्रकाण्डले भने, देशलाई आइपरेको अहसज अवस्था सामना गर्न सबैले सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएका छौ। मौकाको फाइदा उठाउन चाहने दलाल प्रवृत्तिका व्यक्तिलाई जनस्तरबाटै कारबाही गर्छौ। सेतोपाटीमा समाचार छ ।