भारतले अघोषित नाकाबन्दी सुरू गरे पछि पहिलो पटक जमुनाहा नेपालगन्ज नाका हुँदै ६ ट्यांकर अर्थात ७२ हजार लिटर डिजल नेपाल भित्रिएको छ।
AFP
आइतबार दिउँसो डिजल बोकेका ६ ट्यांकर भारतबाट नेपाल प्रवेश गरेका हुन्। भारतीय भन्सार कार्यालयबाट सबै कानुनी प्रकृया पुरा गरेर नेपाल प्रवेश गर्ने क्रममा रहेका ती ६ ट्यांकरलाई तीन दिन पहिले रुपैडियास्थित भारतीय सीमा सुरक्षाबलले रोकेका थिए।
तीन दिन पहिले भन्सार किलिरेन्स भएर रोकिएका ट्यांकर मात्रै नेपाल भित्रिएका हुन्। भन्सारमा रोकिएका १२ वटा पेट्रोल, २९ वटा डिजेल र ४ वटा हवाई इन्धन तथा २३ वटा खाना पकाउने ग्यासका बुलेटहरू भने अझै रुपैडियामा रोकिएका छन्। तीन दिनदेखि रोकिएका ती गाडीको अझै भन्सार क्लियरेन्स भएको छैन।
भारतले अघोषित नाकाबन्दी सुरू गरेपछि पेट्रोलियम पदार्थको अभावलाई सामना गर्न जिल्ला आपूर्ति ब्यवस्थापन समितिको बैठकले बाँकेमा पनि जोर विजोर प्रणाली सुरु गर्ने भएको छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी बेदप्रकाश लेखकको अध्यक्षतामा आईतबार बसेको जिल्ला आपूर्ति ब्यवस्थापन समितिको बैठकले छोटो दुरीका साधनलाई २० लिटर डिजल, मध्यम दुरीकालाई ५० र लामो दुरीका सवारी साधनलाई फूल टेंकी डिजल ईन्धन उपलब्ध गराउने र मोटरसाईकलाई ३ लिटर पेट्रोल दिने निर्णय गरेको छ।
पेट्रोल पम्पले रेकर्ड राखेर सवारी साधनहरुलाई तोकिएको कोटा अनुसार तेल बितरण गर्नुपर्ने नेपाल आयल निगम क्षेत्रिय कार्यालय नेपालगन्जका प्रमुख श्रीचन श्रेष्ठले बताए।
नेपालगन्ज लगायत बाँके जिल्लामा दैनिक ९ देखि १२ हजार लिटर पेट्रोल र १२ देखि १८ हजार लिटरसम्म डिजेलको माग भए पनि नाकाबन्दीका कारण इन्धनको अभाब भएका कारण दैनिक १२ /१२ हजार डिजेल र पेट्रोल बितरण गर्ने ब्यबस्था मिलाइएको छ।
आयल निगमले पालै पालो गरी बाँकेका ३४ वटा पेट्रोल पम्प मध्ये दैनिक ४/४ वटा पेट्रोल पम्पलाई डिजेल र पेट्रोल बितरण गर्ने प्रमुख श्रेष्ठले बताए।
नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव भएका कारण सकेसम्म कम इन्धनको प्रयोग गर्न र बढी स्टक नगर्न आयल निगमले सम्बन्धित सबैलाई आग्रह गरेको छ।
यसैगरी अत्यावश्यक सवारीका साधन, दुध र पानीका टेंकर, सरसफाईका गाडीहरू, शवबाहन, दमकल,सुरक्षा निकायका साधनलाई भने जोर विजोर लागू हुनेछैन। बैठकको निर्णय अनुसार अनुसार सोमबार विजोर नम्बरको सवारी साधनलाई मात्र ईन्धन दिने छ। सेतोपाटीमा समाचार छ ।