मधेशी मोर्चाले औपचारिक रुपमा वार्ता टोली गठन गर्ने

बिगतमा भएको आठ बुदे सम्झौता कार्यान्वयन र राजनीतिक प्रतिबद्धता सहितको वार्ताका लागि सरकारले औपचारिक पत्र पठाएपछि आन्दोलनरत लोकतान्त्रिक संयुक्त मधेशी मोर्चाले औपचारिक रुपमा वार्ता टोली गठन गर्ने भएको छ ।
रौतहटको सदरमुकाम गौरमा बुधबार बसेको आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारसँग वार्तामा बस्ने नीतिगत निर्णय गरेको हो ।
वार्ताको निम्ति पूर्वशर्तको रुपमा मोर्चाले परिचालित नेपाली सेना, सशस्त्र प्रहरी फिर्ता हुनुपर्ने, आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा गर्नुपर्ने, घाईतेको उपचार र क्षर्तीपुर्ती सहित आन्दोलनकारी माथि लगाइएका मुद्दा फिर्ता हुनुपर्ने माग अघि पनि सारेको छ ।
मधेसी मोर्चासँग बिगतमा  ८ र २२ बुँदे सहमति भएको र सोको कार्यान्वयन गर्ने राजनीतिक प्रतिवद्धता हुनु पर्ने मोर्चाको माग रहेको छ ।
मोर्चाका नेता काठमाडौ गएपछि बिहीबार तीन दलका नेतासँग मोर्चाका तर्फबाट तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले अनौपचारिक बार्ता गर्ने निर्णय भएको छ ।
आन्दोलनरत मोर्चासंग बार्ता गर्न तीन सदस्यीय वार्ता टोली प्रमुख तीन दलले गठन गरेपछि मोर्चासँग पटक पटक अनौपचारिक छलफल भएको थियो ।
आन्दोलनरत मोर्चा आबद्ध संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादब, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेश सदभाबना पार्टीका अध्यक्ष महेन्द्र यादब बीच बैठक भएको थियो ।
बैठकमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारी बार्ता टोलीसंग बुधबार भएको बैठकमा भएको छलफलबारे जानकारी गराएका थिए । बार्ताबाट निस्कर्ष ननिस्कुन्जेलसम्म संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले असहयोग आन्दोलन चलाउने निर्णय गरेको छ । इमेजखबरमा समाचार छ ।