भारतको अघोषित नाकाबन्दीको प्रभाव बिहीबार पनि नेपाल-भारत सीमा नाकाहरुमा देखिएको छ ।
भारतको बेलहिया नाकामा रोकिएका मालबाहक गाडीहरु मध्ये १ सय ५० वटा गाडीहरु बुधबार राती ८ बजेसम्म नेपाल प्रवेश भएपनि अन्य गाडीहरु भने छोडिएको छैन ।
बिहीबार बिहानबाट भारतको बेलहिया भंसारले एउटा पनि मालबाहक गाडीहरु नछोडेको भैरहवाका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले जानकारी दिए । भारतीय पर्यटक रहेको नौं वटा बस भने बिहीबार बिहान नेपाल प्रवेश गराइएको छ ।
उता, बिराटनगरको रानी भंसारमा बिहीबार सातौं दिन हुंदा समेत मालबाहक गाडीहरु नाकामै रोकिएका छन् । मोर्चाका कार्यकर्ताहरुले रानी भन्सार परिसरमा चार दिन यता धर्ना जारी राखेका छन् ।
बुधबारसम्म कुहिने अवस्थामा रहेका तरकारी र फलफुल भारतले नेपालतर्फ पठाएको भएपनि बिहीबारबाट नेपालको भंसार कार्यालयले नै त्यस्ता बस्तु भित्राउन रोक लगाएको हो ।
रानी भन्सार क्षेत्रमा चार सय भन्दा माथिका संख्यामा मालबाहक गाडी र पेट्रोलियम पदार्थ बोकेका ट्याङ्करहरु रोकिएका छन् ।
उता, बिहीबारबाट बिराटनगरबाट प्रकाशित हुने दैनिक पत्रिकाहरु बन्द भएका छन् । यसअघि बिराटनगरमा ठूला उद्योगहरु बन्द भईसकेका छन् ।
त्यस्तै एक साता यताबाट झापाको कांकाडभिट्टा भंसारबाट समेत मालबाहक गाडीहरु नेपाल भित्रन सकेका छैनन् ।
सर्वसाधारणलाई पैदल आवात जावत गर्न दिएपनि ठूला सबारी साधनमा भने रोक लगाइएको हो । फलफुल, माछा, टायर र तरकारीका गाडीहरु भने दैनिक एक देखि दुई ट्रक यस नाका भएर नेपाल भित्रिरहेका छन् ।
कांकाडभिट्टा भंसार क्षेत्रमा ४ सय भन्दा माथिका संख्यामा मालबाहक गाडी र पेट्रोलियम पदार्थ बोकेका ट्याङ्करहरु रोकिएका छन् ।
उता, देशकै पहिलो ठूलो भंसार बीरगञ्ज नाकाबाट समेत एक साता यता कुनै पनि मालबाहक सबारी साधन नेपाल भित्रन सकेका छैनन् ।
साइकल र मोटरसाइकल तथा पैदल हिड्ने सर्वसाधारणलाई दैनिक उपभोग्य बस्तु किनमेलमा रोक नलगाएपनि ठूला मालबाहक गाडीहरु भने अझै रोकिएका हुन् ।
गाडीहरुको लाइन भारतको रक्सौलबाट २५ किलो मिटर माथिसम्म पुगिसकेको बताइएको छ । उता, मोर्चाका कार्यकर्ताले एक साता यताबाट मितेरी पूलमा धर्ना जारी नै राखेका छन् ।
यस नाकाबाट गाडीहरु नेपाल भित्रन नसक्दा हालसम्म एक अर्व भन्दा माथिको राजज्व घाटा भईसकेको भंसार कार्यालयले जनाएको छ । इमेजखबरमा समाचार छ ।