मुख्य तीन दलले बिहीबार(आज) संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र थरुहट संघर्ष समितिसँग औपचारिक वार्ताको तयारी गरेका छन् ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठकले संघीय प्रदेशहरुको सिमांकनसहित सबै विषयमा वार्ता गरी शीर्ष नेताहरुको तहमा औपचारिक वार्ताको वातावरण बनाउन वार्ता टोलीलाई जिम्मेवारी दिएको छ ।
आन्दोलनरत पक्षका मुख्य दश वटा मागहरुबारे आवश्यक छलफल गरी निश्कर्षमा पुग्ने गरी वार्ता टोलीलाई म्यानडेड दिइएको बैठकपछि नेताहरुले जानकारी गराएका छन् ।
आज दिनभर वार्ता टोलीले तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र थरुहट संघर्ष समितिका नेताहरुसँग वार्ता गरी औपचारिक वार्ताको वातावरण बनाउने र सकेसम्म आजै साझ शीर्ष नेताहरुको तहमा औपचारिक वार्ता हुने जनाइएको छ ।
आन्दोलनरत पक्षले उठाएका माग संविधान संशोधनमार्फत संवोधन गर्न पनि सकारात्मक रहेको नेताहरुले वताएका छन् । आजको बैठकमा नयाँ सरकार गठनको विषयमा समेत छलफल भएको थियो ।
बैठकमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान जारी गर्नेक्रममा प्रकट भएको दलहरुबीचको एकतालाई कम्तिमा संसदको अर्को चुनाव नभएसम्मका लागि कायम राख्नुपर्नेमा जोड दिएका थिए ।
उनले तीन ठूला दलबाहेक मधेशी दल र राप्रपा नेपाललाई समेत समेटेर सरकार गठन गर्नुपर्ने बताएका थिए ।
आफ्नो भनाइप्रति नेपाली काँग्रेस र एमालेका नेताहरुले पनि सकारात्मक प्रतिक्रिया दिँदै राष्ट्रिय सरकार गठनमै जोड दिएको प्रचण्डले जानकारी दिए । शुक्रबार संसदको बैठक बसेसँगै नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ हुनेछ । इमेजखबरमा समाचार छ ।