भारतको अघोषित नाकाबन्दीका कारण राजधानी काठमाडौंलगायत देशभरको जनजीवन अस्तव्यस्त भएको छ ।
नेपाल-भारत सीमा नाकाहरुबाट सहज रुपमा पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य वस्तुको आपूर्ति हुन नसकेपछि जनजीवन अस्तव्यस्त भएको हो ।
सरकारले बिहीबारदेखि राजधानीमा निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ उपलब्ध गराउन छाडेको छ । पेट्रोलियम पदार्थको माग अनुसार संचित नहुँदा निजी सवारी साधनलाई उपलब्ध गराउन छाडिएको हो ।
सार्वजनिक सवारी साधनलाई भने कोटा प्रणालीअनुसार नै केही पेट्रोल पम्पबाट इन्धन वितरण भइरहेको छ । तर पेट्रोल पम्पहरुमा सवारीको लामो लाइन लागेको छ ।
इन्धन अभावका कारण राजधानीमा सवारी साधन कम मात्र चलेका छन् । चलेका सार्वजनिक सवारी साधनमा यात्रुको थामी नसक्नु भीड लागेको छ ।
पेट्रोलियम पदार्थको अभावका कारण विद्यालयका बससमेत सञ्चालन गर्न कठिनाई हुन थालेको छ भने होटल रेस्टुरेन्टमा समेत नाकाबन्दीको असर परेको छ ।
केही होटल रेस्टुरेन्ट खाना पकाउने ग्याँसको अभावमा बन्द भएका छन् । सर्वसाधारण हिँडेरै गन्तव्यतर्फ गइरहेका भेटिन्छन् । इमेजखबरमा समाचार छ ।