भारतको अघोषित नाकाबन्दीको प्रभाव नेपाल-भारत सीमा नाकाहरुमा कायमै छ । आठ दिनदेखि भारतीय अघोषित नाकाबन्दीका कारण तनावपूर्ण रहेका सीमा नाकाहरुबाट शुक्रबार पनि पेट्रोलियम पदार्थ भित्रन सकेका छैनन् । इमेजखबरमा समाचार छ ।
रुपन्देहीको बेलहिया सुनौली नाकाबाट बिहीबार केही मात्रामा पेट्रोलियम पदार्थ भित्रिए पनि शुक्रबार फेरि खाद्यान्न र अन्य सामान लोड गरिएका ट्रक मात्र भित्रिएका छन् ।
मध्याह्न १२ बजेसम्म भित्रिएका ५० वटा गाडीमा लत्ता कपडा, खाद्यान्न र अन्य घरायसी सामान मात्र रहेको भन्सार कार्यालयले जनाएको छ ।
त्यस्तै, बाँकेको कोहलपुर, रुपैडिहा नाकामा पनि नाका सुचालु गराउन भारतीय र नेपाली पक्षबीच वार्ता भइरहेको हाम्रा संवाददाताले जनाएका छन् ।
बिराटनगरको रानी भन्सारमा शुक्रबार आठौं दिन हुँदासमेत मालबाहक गाडी नाकामै रोकिएका छन् । मधेसी मोर्चाका कार्यकर्ताले रानी भन्सार परिसरमा पाँच दिन यता धर्ना दिँदै आएका छन् । रानी भन्सार क्षेत्रमा ४ सय भन्दा बढी मालवाहक गाडी र पेट्रोलियम पदार्थ बोकेका ट्यांकर रोकिएका छन् ।
यसैगरी एक साता यताबाट झापाको कांकडभिट्टा भन्सारबाट समेत मालवाहक गाडी नेपाल भित्रन सकेका छैनन् । कांकडभिट्टा भन्सार क्षेत्रमा ४ सय भन्दा बढी मालवाहक गाडी र पेट्रोलियम पदार्थ बोकेका ट्यांकर रोकिएका छन् ।
उता, देशकै ठूलो भन्सार नाका बीरगन्जबाट समेत एक साता यता कुनै पनि मालवाहक सवारी साधन नेपाल भित्रन सकेका छैनन् । साइकल र मोटरसाइकल तथा पैदल हिड्ने सर्वसाधारणलाई दैनिक उपभोग्य बस्तु किनमेलमा रोक नलगाए पनि ठूला मालवाहक गाडी अझै रोकिएका हुन् । गाडीको लाइन भारतको रक्सौलबाट २५ किलो मिटर माथिसम्म पुगिसकेको बताइएको छ ।
मोर्चाका कार्यकर्ताले एक साता यता मितेरी पूलमा धर्ना जारी नै राखेका छन् ।