नेपालमा चराको वास्तविक अवस्था पत्ता लगाउन देशभरिका चरा विज्ञ चितवनको सौराहामा भेला भएका छन्।
हिमालयन नेचर, जुओलोजिकल सोसाइटी अफ लन्डन र राष्ट्रिय प्रकृति संरक्षण कोषको आयोजनामा देशभरका करिब ६० जना चरा विज्ञको सहभागितामा पाँचदिने गोष्ठी सुरु भएको हो। सन् २०१२ पछि यो पहिलो गोष्ठी भएको चरा विज्ञ डा हेमसागर बरालले जानकारी दिए।
नेपालमा पछिल्लो समयमा चराको अवस्था के छ, कुन चरा सङ्कटमा छन्, कुन कुन क्षेत्रमा चराको अवस्था राम्रो छ, कुन क्षेत्रमा छैन, सङ्कटमा पर्नुको कारण के हो लगायतका विषयमा छलफल हुने डा बरालले जानकारी दिए। बिहीबारदेखि सुरु पाँचदिने छलफलले चरा संरक्षणमा अपनाउनुपर्ने नयाँ रणनीतिसमेत तय गर्नेछ ।
चराको अवस्था पत्ता लगाई यसैको निष्कर्षको आधारमा किताव तयार पार्ने बर्ड एजुकेसन सोसाइटी चितवनका निवर्तमान अध्यक्ष वासु विँडारीले जानकारी दिए। गोष्ठीमा सङ्कटमा पर्न खोजेको देखिएका ६६ प्रजातिका चराको विषयमा गम्भीर मन्थन हुनेछ । यसका लागि करिब तीन हजार सन्दर्भ सामग्री सङ्कलन गरिएको छ ।
हाल विश्वमा नौ हजार प्रजातिका चरा छन् । नेपालमा ८७५ र चितवनमा ६२९ प्रजातिका चरा रहेको तथ्याङ्क छ। यसअघि नेपालमा १४९ प्रजातिका चरा सङ्कटापन्न अवस्थामा रहेको विज्ञ डा बरालले जानकारी दिए। बाँकी चराको अवस्था के छ त भन्ने विषयमा जानकारी नभएकाले सोही बारेमा गम्भीर छलफल गरेर यो गोष्ठीले निचोड निकाल्ने उनको भनाइ छ।
मुख्यगरी सिमसार क्षेत्रमा पाइने, घाँसेमैदानमा पाइने चराका साथै अन्य विभिन्न प्रजातिका चराको विषयमा विज्ञबीच छलफल हुने चरा विज्ञ राजु आचार्यले जानकारी दिए। निकुञ्ज विभागका पर्यावरणविद् गोपाल प्रकाश भट्टराईले निकुञ्ज ऐन संशोधनका क्रममा रहेकाले कार्यशालाले महत्वपूर्ण सुझाव दिने आशा व्यक्त गरे।
उनका अनुसार नेपालमा नौ प्रजातिका चरा संरक्षण सूचीमा छन्। अब यो गोष्ठीले उक्त सूची हेरफेर गर्न सक्नेगरी निष्कर्ष निकाल्ने आशा राखिएको भट्टराईले बताए। हिमालयन नेचरका अध्यक्ष करण शाहले नेपालमा अन्य वन्यजन्तुभन्दा चराको अध्ययन अनुसन्धान प्रभावकारी रहेको बताए। नेपालमा लामो समयदेखि चराको अध्ययन गर्दै र किताब लेख्दै आएका वेलायतका क्यारोल र टिम इन्स्किपको समेत कार्यक्रममा सहभागिता रहेको छ। रासस