दसैंका लागि घर लिपपोत गर्ने माटो लिन गएका कैलालीका ६ जना बालबालिकाको ढिस्कोले पुरिएर मृत्यु

कैलाली  । माटोको ढिस्कोले पुरिएर शुक्रबार कैलालीमा ६ जना बालबालिकाको मृत्यु भएको छ ।
दसैंका लागि घर लिपपोत गर्ने माटो लिन गएका दोदोधरा गाविस-७ कट्टिपुरका बालबालिकाहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा १० वर्षीया सीता प्याकुरेल, ९ वर्षीया मैना सुनार, ६ वर्षीया नतिता न्यौपाने, ७ वर्षीया किरण सुनार, ६ वर्षका दीपक प्याकुरेल र ७ वर्षका सुशान्त सुनार रहेका छन् ।
माटो लिन जाँदा उनीहरु पुरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।
उक्त घटनामा परी घाइते भएका दुईजनालाई उपचारका लागि कोहलपुर लगिएको छ ।
घाइते हुनेमा ३० वर्षीया जमुना खतिवडा र ३५ वर्षीया रतना खतिवडा रहेका जनाइएको छ । इमेजखबरमा समाचार छ ।