नवलपरासीका स्थानीयबासीहरु मोर्चाका कार्यकर्ताविरुद्ध खनिए

नवलपरासीको पक्लिहवास्थित सीमावर्ती भारतीय बजारबाट दैनिक उपभोग्य सामाग्री ल्याउन नदिएपछि स्थानीयबासीहरु मोर्चाका कार्यकर्ताविरुद्ध खनिएका छन् ।
सो क्रममा आइतबार मोर्चाका कार्यकर्ता र गाउँलेबीच झडप समेत भएको छ । इलाका प्रहरी कार्यालय बेलटारीका निरीक्षक जगतबन्धु पोखरेलका अनुसार सीमावर्ती भारतीय बजार बलिनगरबाट पक्लिहवा र नर्सहीका स्थानीयवासीहरुले ल्याउँदै गरेको दैनिक उपभोग्य सामाग्रीलाई मोर्चाका कार्यकर्ताहरुले फ्याकिदिएपछि झडप भएको हो ।
सो नाकाबाट भारतीय सुरक्षाकर्मीहरुले सामान ओसारपसारमा कुनै कडाई नगरे पनि नेपालतर्फ मोर्चाका कार्यकर्ताहरुले अवरोध पुर्‍याएको भन्दै स्थानीयबासीले विरोध जनाउँदै आएका छन् ।
उक्त क्षेत्रमा नेपाली कांग्रेसले संविधानबारे जागरण अभियान समेत संचालन गरिरहेको छ । क्षेत्र नं. ६ का सभासद देवकरण जयसवालको नेतृत्वमा भएको जागरण अभियान पनि मोर्चाका कार्यकर्ताले बिथोल्न खोजेका थिए ।  इमेजखबरमा समाचार छ ।