सुनौली नाका तनावग्रस्त, दुईजना डीएसपीसहित आठ प्रहरी घाइते

सुनौली नाकामा धर्ना सहितको आन्दोलन गर्न दशगजा सिामानामा आएका आन्दोलनकारीले नेपाली सुरक्षाकर्मीमाथि ढुंगा बर्षाउन थालेपछि आजपनि सुनौली नाका तनावग्रस्त बनेको छ ।
नेपालमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले एक्कासी ढुंगा प्रहार गरेपछि नेपालका दुईजना डीएसपीसहित आठ प्रहरी घाइते भएका छन् । ढुंगा प्रहारबाट दुईजना सञ्चारकर्मीलाईपनि चोट लागेको छ ।
दिउँसो साढे १२ बजे दशगजा सिमानामा आन्दोलन गर्न आएका आन्दोलनकारीलाई सिमानाका बन्द हुने गरि धर्नामा नबस्न भनेर आग्रह गर्न जाँदा एक्कासी भारततर्फबाट ढुंगा बर्षाउन थालिएको थियो । ढुंगा प्रहारबाट शसस्त्र प्रहरीका डीएसपी शंकर खनाल र नेपाल प्रहरीका डीएसपी रामेश्वर कार्की सहित नेपाली आठजना सुरक्षाकर्मी घाईते भएका हुन् ।
ढुंगा बर्षाएर सुरक्षाकर्मी घाइते भएपछि आन्दोलनकारी सिमापारीको सुनौली बजारतर्फ लागेर संरक्षित भएका थिए । समाचार संकलनका लागि गएका सञ्चारकर्मी शारदा मल्ल र सलमान खानलाई पनि ढुंगा लागेको थियो ।  
आन्दोलनकारी सुनौलीतर्फ लागेलगत्तै काम विशेषले सुनौली बजार गएका बुटवल देवीनगरका गणेश थापा नामका व्यक्तिलाई रगताम्मे हुने गरि कुटपिट गरिएको छ । उनको झोलापनि लुटिएको छ । भारतीय सेनाबाट निबृत्त थापा सुनौलीमा कुटाई खाएपछि रगताम्मे हुँदै नेपालतर्फ आएका छन् ।
ढुंगा प्रहारमा संलग्न तीनजना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रामग्राम नगरपालिका नवलपरासीका रमेश यादव, भैरहवाको एयरपोर्टका रामु यादव र रुपन्देहीको मझगवा मर्चवारका शिवदाश यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
साढे १२ बजेपछि नाकाबाट कुनैपनि मालवाहक गाडी नेपाल आएको छैन । यसअघि ५ वटा ट्रक, १ पिकअप गाडी र ११ वटा पर्यटकसहितको बस नेपाल आएका थिए । ईकान्तिपुरमा समाचार छ ।