वायुसेवा निगमले भारतबाटै जहाज चार्टर गरेर ६६ टन हवाई इन्धन ल्यायो

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले इन्धन अभावबाट जोगिन  जहाज चार्टर गरेर बिहीबार ६६ टन हवाई इन्धन ल्याएको छ । निगमले आफ्नै जहाजबाट बिहीबार दिउँसो र साँझ गरी उक्त परिमाणबराबरको हवाई इन्धन  एयर टर्बाइन फ्युल  (एटिएफ) ल्याएको हो । नागरिकन्युजमा समाचार छ । 
 
एक उडानबाट ३३ टन इन्धन आपूर्ति गरेको हो ।
निगमले ल्याएको इन्धन अन्य कुनै पनि कम्पनीलाई प्रयोग गर्न नदिइने निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले जानकारी दिए ।  हामीले ल्याएको इन्धनमध्ये ३६ टन नेपाल आयल निगमले सुरक्षित भण्डारण गरिदएको छ, उनले बिहीबार नागरिकसँग भने,  बाँकी इन्धन अन्य गन्तव्य जान त्यही जहाजमा राखेका छौं । 
शर्माका अनुसार अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा निर्मित १ सय ९० सिट क्षमतायुक्त  बि७५७ २००  सिरिजको जहाजबाट दुई पटक चार्टर उडान गरी इन्धन ल्याएको हो । इन्धन ल्याउन छुट्टै ट्यांकीको प्रयोग नगरी जहाजकै ट्यांकीमा पूरै भरेर ल्याइएको हो ।
इन्धन ल्याएपछि आयल निगमको प्राविधिक सहयोगमा झिकिएको थियो । एक उडानबाट ३३ टन इन्धन ल्याए पनि १८ टनमात्र जहाजबाट निकालिएको थियो । बाँकी इन्धन त्यही जहाजमा राखिएको थियो । त्यही जहाजलाई पुनः कोलकाता पठाएर फेरि ३३ टन नै इन्धन ल्याइएको थियो ।
काठमाडौंबाट कोलकाताको हवाई दुरी ४५ मिनेटमात्र छ । फेरि यहाँभन्दा कोलकातामा इन्धनको भाउ तीन गुणा सस्तो पनि पर्छ । वायुसेवा निगमका अनुसार आयल निगमसँग हवाई इन्धन खरिद गर्दा प्रतिकिलो लिटर करिब १ हजार ३ सय ५० डलर (१ लाख ३० हजार ५ सय रुपैयाँ) पर्छ । उता कोलकातामा त्यही इन्धन खरिद गर्दा प्रतिकिलोलिटर ४ सय ७० डलर (४० हजार ७ सय रुपैयाँ) मात्र पर्ने गर्छ ।
‘अबको तीन दिनभित्र इन्धन आपूर्ति सहज भएन भने हामी फेरि यसैगरी जहाज चार्टर गर्दै इन्धन लिएर आउँछौं,’ शर्माले भने, ‘हाम्रा जहाजलाई जति आवश्यक पर्छ, त्यति परिमाणमा ल्याउँछौं । दसैंसम्म यसैगरी ल्याउने योजना छ ।’
इन्धन अभावको चर्को मार खेपिरहेको निगमले उडानलाई निरन्तरता दिन आफ्नै जहाजको ट्यांकीमा भरेर इन्धन ल्याउने निर्णय बुधबार गरेको थियो । आयल निगमले आफूसँग मौज्दात नरहेको भन्दै काठमाडौं उडान गरिरहेका सम्पूर्ण विदेशी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः इन्धन भर्न दिन नसक्ने घोषणा गरिसकेको छ । यसबाट ध्वजावाहक वायुसेवा निगम पनि अछुतो रहेको छैन ।
आवश्यक हवाई इन्धन अभावमा उडानसमेत ‘रोक्नुपर्ने’ अवस्था आउन नदिन वायुसेवा निगमले आफैं तेलको जोहो गरेको हो । ‘यसरी चार्टर गरेर ल्याउँदा केही घाटा भए पनि हामी यात्रु सेवालाई निरन्तरता दिन्छौं,  शर्माले भने, ‘हामीले ल्याउने इन्धन आयल निगमले नै राख्ने हो र पछि आवश्यक पर्दा हामीलाई उसले उपलब्ध गराउँछ । 
यहाँबाट कोलकाता जाँदा र फर्कंदा करिब आठ टन इन्धन खपत हुने गर्छ । बाँकी २५ टन इन्धन बचत हुने भए पनि कथंकदाचित आकस्मिक अवतरण गर्नुपर्ने अवस्था आए वैकल्पिक विमानस्थलका लागि सात टन इन्धन ट्यांकीमै राखिरहनुपर्छ ।
काठमाडौंबाट कोलकाताका लागि निगमको नियमित यात्रु उडान नभएका कारण आफ्नै जहाज चार्टर गरेर जानुपरेको हो । निगमका अनुसार काठमाडांैबाट कोलकाता एक पटक चार्टर उडान गर्दा ७ हजार अमेरिकी डलर (७ लाख रुपैयाँ) खर्च लाग्छ । यसमा उताको अवतरण (ल्यान्डिङ), पार्किङ, नेभिगेसनल शुल्क, जहाज मर्मत सबै खर्च समेटिएको छ ।
निगमले यहाँबाट दोहा जाँदा नयाँदिल्ली र क्वालालम्पुर जाँदा भने कोलकातामा प्राविधिक अवतरण गरी पुनः इन्धन भरेर जाने गरेको छ र उताबाट फर्कंदा पनि ट्यांकी भरी तेल ल्याइरहेको छ । हङकङ र थाइल्यान्डको बैंकक गएर फर्कंदा पनि उतैबाट तेल लिएर आउने गरेको छ ।
नेपालमा संविधान जारी भएका विषयमा बखेडा झिक्दै भारतले अघोषित नाकाबन्दी लगाएपछि दुई सातादेखि पेट्रोलियम पदार्थ आयात ठप्प भएको छ । यसको गम्भीर असर दैनिक उपभोग्य सामग्री आयातदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा परेको छ ।
असोज १३ गते वायुसेवा निगमले थप दुई दिनका लागि  जसरी भए पनि  इन्धन उपलब्ध गराइदिन आयल निगमलाई आग्रह गरे पनि तेल उपलब्ध हुन नसक्दा निगमको क्वालालम्पुर जानुपर्ने १४ गतेको उडान रद्द भएको थियो ।
वायुसेवा निगमसँग अन्तर्राष्ट्रिय उडान गर्न चारवटा जहाज छन् । बोइङमा उत्पादित बि७५७ दुईथान र युरोपेली ज्हाज निर्माता कम्पनी एयरबसमा उत्पादित ए३२०-२०० सिरिजका दुईथान जहाजबाट निगमले हाल पाँच देशका सात गन्तव्यमा उडान गरिरहेको छ ।
तीमध्ये बि७५७ करिब ३० वर्ष पुराना हुन् भने ए३२० हालै खरिद गरी ल्याइएका हुन् । बि७५७ मा १ सय ९० सिट तथा ए३२० मा १ सय ५८ सिट क्षमता छ । बि७५७ ले उडान गर्दा प्रतिघन्टा चार टन (चार हजार किलो) इन्धन खपत गर्छ भने ए३२० ले प्रतिघन्टा औसत तीन टन (तीन हजार किलो) खपत गर्छ ।
निगमले हाल मलेसियाको क्वालालम्पुर र भारतको नयाँदिल्लीका लागि दैनिक एक-एक उडान गरिरहेको छ । त्यस्तै कतारको दोहा, हङकङ र थाइल्यान्डको बैंककका लागि सातामा तीन-तीन उडान गरिरहेको छ । भारतकै मुम्बई र बैंगलोरका लागि भने सातामा दुई