एमाओवादीद्धारा प्रधानमन्त्री निर्वाचनमा एमाले केपी ओलीलाई समर्थन जनाउने औपचारिक निर्णय

एमाओवादीले प्रधानमन्त्री निर्वाचनमा एमाले अध्यक्ष केपी ओलीलाई समर्थन जनाउने औपचारिक निर्णय गरेको छ ।
 एमाओवादीको स्थायी समितिको बैठकले घुमाउरो शैलीमा ओलीलाई समर्थन जनाउने निर्णय लिएको हो । उसले संविधान निर्माणका क्रममा १६ बूँदे सहमति हुँदा भएको भद्र सहमति अनुसार राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय लिएको एमाओवादी नेता गिरिराजमणि पोखरेलले बताए । 
सरकार निर्माणका लागि बहुमतीय प्रकृया सुरु भए पनि प्रमुख तीन दलसहित अन्य दलसमेतको सहभागितामा सहमतीय सरकार बनाउनु पर्ने उसको निर्णय छ ।
एमाओवादीले आफ्नो पार्टी सरकारमा जानका लागि ८ बूँदाको नीतिगत आधार तय हुनुपर्ने शर्त अघि सारेको छ । जसमा राष्ट्रिय स्वाधिनताको बिषयलाई उसले पहिलो बूँदामा उठाएको छ । उसले उठाएका नीतिगत आधारहरुमा आन्दोलनकारीको माग, संविधान संशोधन र कार्यन्वनको बिषय, भारतले लगाएको नाकाबन्दीको तत्कालीन र दीर्घकालीन समाधान, भूकम्पले सृजना गरेको विपत्ति पछिको पुर्ननिर्माण र नवनिर्माण, उत्पिडित मजदुर किसान, दलितलगायत सिमान्तकृत समुदायको मागलाई सम्वोधन गर्ने बिषय, आर्थिक सम्वृद्धिलाई केन्द्रमा राखेर काम गर्ने, शान्तिप्रकृयासँग जोडिएका बिषयलाई अघि बढाउने बूँदा छन् ।
यी आधारहरु तय भएमा हामी सरकारमा जानेछौं, पोखरेलले भने । एमाओवादीले आफ्नो पार्टीको औपचारिक निर्णय र सरकारमा प्रवेश गर्ने आधारहरुको बिषयमा छलफल गर्न अहिले एमालेसँग अध्यक्ष ओली निवास बालकोटमा छलफल भइरहेको छ । एमालेसँग छलफल सकिएपछि यिनै बिषयलाई लिएर कांग्रेससँग पनि छलफल गर्ने तयारी एमाओवादीको छ । ईकान्तिपुरमा समाचार छ ।