उत्तर कोरिया अमेरिकाको आक्रमणको प्रतिरक्षा गर्न तयार

उत्तर कोरियामा सत्तारुढ वर्कस पार्टीको ७०औं वार्षिकोत्सवको अवसरमा विशाल सैन्य परेड आयोजना गरिएको छ ।
राजधानी प्योङयाङमा आयोजित परेडमा व्यालेस्टिक मिसायल, आधुनिक सैन्य हतियारलगायतका सामग्री प्रदर्शन गरिएको थियो ।
समारोहबाट उत्तर कोरियाले विश्वसामु आफ्नो एकत्रित सैन्य शक्तिको सन्देश दिन खोजेको विश्लेषण गरिएको छ । समारोहमा हजारौंको संख्यामा सेनाले मार्च मास गरेका थिए ।
समारोहलाई सम्बोधन गर्दै उत्तर कोरियाका नेता किम जोङ उनले अमेरिकाले गर्ने कुनैपनि आक्रमणको प्रतिकार गर्न तयार रहेको बताएका छन् ।
समारोहमा उत्तर कोरियाको सबैभन्दा नजिक रहेको मुलुक चीनको कम्युनिष्ट पार्टीका वरिष्ठ अधिकारी सहभागी भएपनि अन्य मुलुकका भने कुनैपनि प्रतिनिधिको सहभागिता छैन ।
विश्व समुदायबाट अलग रहँदै आएको आणविक शक्ति सम्पन्न मुलुक उत्तर कोरियामा वंशजको आधारमा शासन चल्दै आएको छ । (एजेन्सी)