ओलीको संक्षिप्त जीवनयात्रा:
जन्म: २००८ फागुन ११
जन्म स्थान: तेह्रथुम, आठराई, इवागाउँ
बसाइँसराइँ: झापा
औपचारिक शिक्षा: १० कक्षा
पत्नी: राधिका शाक्य
कम्युनिष्ट पार्टीसँग सम्पर्क: २०२३ साल
कमयुनिष्ट पार्टीको सम्पर्क: २०२६ साल
जेल जीवन: लगातार १४ वर्ष
पंचायती प्रशासनले जेलजीवनका क्रममा केपी ओलीलाई नौं पटक ठाउँसारी गरेको थियो। जुन निम्नानुसार छ:
२०३० मंसीरदेखि २०३२ वैशाख: सेन्ट्रल जेल गोलघर
२०३२ वैशाख: नख्खु
०३३ मंसीरदेखि २०३६ जेठ: केन्द्रीय कारागार गोलघर
२०३६ जेठदेखि २०३७ चैत: केन्द्रीय कारागार
२०३७ चैतदेखि २०३९ माघ: नख्खु जेल
२०३९ माघदेखि २०४२ कात्तिक: पोखरा
२०४२ कात्तिकदेखि २०४३ मंसीर: स्याङ्जा जेल
२०४३ मंसीरदेखि २०४३ माघ: हनुमानढोका
२०४३ माघदेखि २०४४ असार: भद्रगोल जेल
पार्टीका महत्वपूर्ण जिम्मेवारी
२०२९: नेपाल कम्युनिस्ट पार्टी झापा आन्दोलन कमिटी प्रमुख
२०४४: केन्द्रीय कमिटी सदस्य
२०४६: लुम्बिनी अञ्चल प्रमुख
२०४७: प्रजातान्त्रिक राष्ट्रिय युवा संघको संस्थापक अध्यक्ष
२०५०: प्रमुख, दासढुंगा दुर्घटना छानबिन समिति
२०४९ देखि २०७१: स्थायी कमिटी सदस्य
सार्वजनिक ओहोदा
२०४८: प्रतिनिधि सभा सदस्य
२०५१: प्रतिनिधि सभा सदस्य
२०५६: प्रतिनिधि सभा सदस्य
२०७०: संविधान सभा सदस्य
राजकीय जिम्मेवारी
२०५१: एमाले अल्पमत सरकारमा गृहमन्त्री
२०६३: उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री
२०७०: एमाले संसदीय दलको नेता
२०७२ असोज २४: गणतन्त्र नेपालको प्रधानमन्त्री
नेकपा एमालेका अध्यक्ष केपी ओलीले वि.सं. ०२७ सालमा राजनीति सुरु गरेका हुन् । ०७२ सालमा उनी प्रधानमन्त्री बनेका छन् ।
राजनीतिक परिवर्तनका लागि ०५२ सालमा हतियार उठाएका प्रचण्ड र बाबुराम भट्टराई त्यसको १३ वर्षपछि नै पालैपालो प्रधानमन्त्री बने । तर, ०२७ सालमा राजनीतिमा प्रवेश गरेर झापा आन्दोलनमा हतियार उठाएका केपी ओलीका लागि प्रधानमन्त्री बन्ने अवसर ४६ वर्षपछिमात्रै जुर्यो ।
राजनीतिमा धैर्यता र निरन्तरताको कुनै अवधि हुँदैन भन्ने कुरा ओलीको राजनीतिक जीवन एउटा जीवित साक्षी बनेको छ । ओली गरीब परिवारमा हुर्केका हुन् ।
युवा संघको संस्थापक अध्यक्ष हुने र झापामा ४ महिना पार्टी सचिव हुनेबाहेक पार्टीभित्र र बाहिर कहिल्यै पनि फस्ट म्यान हुन नपाएका ओलीले एक-डेढ वर्षको बीचमा जीवनका सबै सपना पूरा गरे ।
यसवीचमा ओली संसदीय दलको नेता निर्वाचित भए । त्यसलगत्तै पार्टीको अध्यक्ष निर्वाचित भए । र, अहिले आएर मुलुककै कार्यकारी प्रमुख प्रधानमन्त्री पदमा निर्वाचित भए ।
संयोग नै मान्नुपर्छ, ओलीले यी तीनै निर्वाचनमा मुलुकको प्रधानमन्त्री भइसकेका नेताहरुलार्इ पराजित गरे । डेढ वर्षअघि संसदीय दलको निर्वाचनमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उनले पराजित गरे ।
त्यसलगत्तै पार्टीको महाधिवेशनमा अर्का पूर्वप्रधानमन्त्री तथा १४ वर्षसम्म पार्टी प्रमुख बनेका माधव नेपाललाई पराजित गरे । पछिल्लोपटक मुलुकको प्रधानमन्त्री बन्ने क्रममा उनले देशका बहालवाला प्रधानमन्त्री तथा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई पराजित गरे ।
अन्तिम युद्धमा ओलीका सारथी बनेका छन् अर्का पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ।
दुःखपूर्ण वाल्यकाल
ओली वि.सं. २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका हुन् । उनी डेढ वर्षको हुँदा आमाको निधन भएको समकालीन एमाले नेताहरु बताउँछन् । उनी ४/५ वर्षको हुँदा उनका पिता मोहनप्रसाद बालबच्चा दिएर झापाको सुरुङ्गा गाविसमा झरे ।
पछि कन्काइको बाढीले ओली परिवारको घर बगाइदिएपछि उनीहरु सुकुम्बासीमा परिणत भए । ओलीलाई केही समय बडाबा र हजुरबाहरुले पाले । किशोरावस्थामा ओली रामनाथ दाहालका घरमा काम गरेर विद्यालय जान थाले । उनको दश कक्षासम्मको औपचारिक शिक्षा झापामै भयो ।
झापा झरेका र वाल्यकालमै आमाको मातृ वात्सल्यबाट विमुख बनेका ओली रामनाथ दाहालका घरमा बसेर पढ्ने क्रममा रामनाथकै प्रेरणाले कलिलो उमेरमै कम्युनिष्ट बने । रामनाथ दाहाल ०२९ सालमा सुखानीमा शहीद भए ।गरिवीका कारण अरुको काम गरेर बस्न बस्न बाध्य बनेका ओली ०२३ सालमा मार्क्सवादी अध्ययन दलको सदस्य बनेर कम्युनिस्ट राजनीतिमा होमिएका हुन् ।
पाटन निवासी राधिका शाक्यसँग अन्तरजातीय विवाह गरेका ओलीका आफ्ना छोराछोरी छैनन् । भक्तपुरको बालकोट र झापाको दमकमा घर भएका ओलीले जीवनको उत्तरार्धमा परिवारका सदस्यका लागि पैसा र पदको दायित्व बोक्नुपर्ने स्थिति छैन ।
सुरुङ्गामा बाढीले घरजग्गा बगाएपछि झापाको पृथ्वीनगरमा बसाइँ सरेका ओलीका पिताले सामान्य किसानले जस्तै अनेक भुक्तमान भोग्नुपरेको थियो ।
ओली गृहमन्त्री भएका बेला उनका पिताको घरमा आगलागी भयो । आगलागीपछि सरकारबाट क्षतिपूर्ति पाएको पैसाले उनका पिताले सामान्य बस्न लायकको घर बनाएको छिमेकीहरु बताउँछन् ।
गरीबी अवस्थामा वाल्यकाल बिताए पनि ओलीले राजनीतिक यात्राकै क्रममा दमक र भक्तपुरको बालकोटस्थित अनन्तलिङ्गेश्वरमा घर बनाएर आफ्नो आवासलाई व्यवस्थित गरेका छन् । प्रचण्ड वा सुशीलले जस्तो डेरा भाडा तिरेर बस्नुपर्ने अवस्था उनको छैन ।
पार्टी र राजकीय जिम्मेवारी
केपी ओली ०४४ पुस २ गतेबाट धादिङको स्यादुलमा बसेको तत्कालीन नेकपा (माले) को बैठकबाट केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीमा पुगे । ०४६ मा तत्कालीन नेकपा (माले) लुम्बिनी अञ्चल प्रमुख बनेका ओली ०४७ जेठ १ गते युवा संघको संस्थापक अध्यक्ष बने । ०४९ देखि एमालेको स्थायी कमिटी सदस्य निर्वाचित भए ।
वि.सं ०४८ सालको आम निर्वाचनमा झापाबाट सांसद निर्वाचित भएका ओली ०५१ मा पुनः सोही क्षेत्रबाट निर्वाचित भए । एमालेको ९ महिने सरकारमा ओली नेपालको पहिलो कम्युनिस्ट सरकारको गृहमन्त्री बने ।
नेपालको इतिहासमा ओलीको गृहमन्त्रीको कार्यकाल यस्तो बन्न पुग्यो, जुन ९ महिनाको अवधिमा प्रहरीको गोलीबाट नेपालमा एकजनाको पनि मृत्यु भएन । तत्कालीन प्रहरी आइजीपी मोतीलाल बोहोराले ओलीको सन्दर्भमा भनेका थिए-हाम्रो गृहमन्त्रीज्यूको त मुखैमा सरस्वती ।
त्यसैगरी ०५६ सालको आम निर्वाचनमा झापा २ र ६ बाट सांसद जितेका ओली ०६४ मा भने झापाकै सोही क्षेत्रमा माओवादीका सामान्य कार्यकर्ता विश्वदीप लिङदेनबाट पराजित भए ।
तर, ०७० को दोस्रो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट पुनः भारी मतका साथ जितेर आएपछि ओलीको निरन्तर बिजय यात्रा अघि बढ्यो ।
ओलीले गृहमन्त्री र पराराष्ट्रमन्त्रीका रुपमा राजकीय जिम्मेवारी दुईपटक मात्र सम्हाले र दुबैपटक विवादमा परेनन् । ०५१ मा गृहमन्त्री बनेका ओली २०६२/६३ को जनआन्दोलनलगत्तै बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री बने ।
एउटा कक्षामा एक पटकमात्र जाँच दिनुपर्छ भन्ने मान्यता राख्ने ओली मन्त्रीबाट उपप्रधानमन्त्री बनेपछि उनले अब फेरि मन्त्री नबन्ने बताएका थिए । नभन्दै एकैचोटि प्रधानमन्त्री बनेर उनी सिंहदरबारमा प्रवेश गरेका छन् ।
ओलीको शैक्षिक योग्यता सामान्य रहे पनि उनमा बाहिरी ज्ञान उच्च शिक्षा लिनेको भन्दा कम छैन । भाषा साहित्यमा उनको दख्खल राम्रो देखिन्छ । संसद सचिवालयको रेडर्कमा ओलीको शैक्षिक योग्यता अनररी पीएचडी लेखिएको छ ।
प्रधानमन्त्री ओलीले चीन, भारत, बंगलादेश, भुटान, श्रीलंका, जापान, सिंगापुर, भियतनाम, अस्ट्रेलिया, अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, रसिया, स्विडेन, फिलिपिन्स, काजकिस्तान, पेरु, मेक्सिको, पोर्चुगल, स्पेन, कतार, मलेसिया, क्युवा, युक्रेन, नेदरल्यान्ड, बेल्जियम, साइप्रस र बेलारुस आदिको भ्रमण गरेका छन् ।
राजनीतिक यात्राक्रम
झापा क्रान्ति भनेपछि नेपाली राजनीतिमा अहिले पनि चर्चित छ । अझ नेपालमा कम्युनिस्ट शासन स्थापनाका लागि हतियार उठाइएको त्यो नेपालको पहिलो सशस्त्र विद्रोह थियो ।
झापा विद्रोहमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीभित्र हतियारवद्ध संघर्ष गर्ने कि शान्तिपूर्ण संघर्ष गर्ने भन्ने सवालको बहसमा ओली शान्तिपूर्ण क्रान्तिको पक्षमा थिए ।
तर, तत्कालीन पार्टीमा सीपी मैनाली, मोहनचन्द्र अधिका