सभामुख सुवास नेम्वाङले राजीनामा दिएका छन्। बुधबार उपसभामुख ओनसरी घर्तीसमक्ष नेम्वाङले राजीनामा बुझाएका हुन्। व्यवस्थापिका संसदको आज बस्ने बैठकले नयाँ सभामुख चयनको प्रक्रिया अगाडि बढाएपछि सभामुख नेम्वाङले राजीनामा दिएका हुन्।
सभामुखको निर्वाचनको कार्यतालिका सार्वजनिक भइसकेपछि पदमा बसिरहनु हुँदैन भन्ने निष्कर्षमा सभामुखज्यू पुगेपछि राजीनामा दिनु भएको हो, संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले भने, त्यही भएर सभामुखले आजै राजीनामा दिनु भएको हो।
सभामुखले उपसभामुखसमक्ष राजीनामा बुझाएपछि उपसभामुख ओनसरी घर्तीले पनि सभामुख सुवास नेम्वाङ समक्ष राजीनामा बुझाएकी छिन्। व्यवस्थापिका संसदको कार्यसंचालन नियमावली-२०७० अनुसार सभामुखले उपसभामुख समक्ष र उपसभामुखले सभामुखसमक्ष राजीनामा बुझाउनु पर्छ। सभामुख र उपसभामुख दुवैले राजीनामा दिएपछि संसदको जेष्ठ सदस्यले बैठक संचालन गर्ने नियमावलीमा उल्लेख छ।
संसद सचिवालयका अनुसार सभामुखको निर्वाचनको लागि बिहीबार उम्मेदवारी दर्ता गराउने र शुक्रबार निर्वाचन गर्ने तयारी रहेको छ। दलहरुबीच भएको सहमति अनुसार नयाँ सभामुख एमाओवादीले पाउने तय भएको छ।
तर एमाओवादीले कसलाई सभामुख बनाउने भन्ने विषयमा भने निर्णय गरिसकेको छैन। संविधानको धारा २९९ ९२० मा संसद बैठक आह्वान भएको २० दिनभित्र नयाँ सभामुख र उपसभामुख चयन भइसक्नुपर्ने प्रावधान छ। सभामुख चयनको प्रक्रिया सुरु भएपछि आफू सो पदमा बस्नु उचित नहुने भन्दै नेम्वाङले राजीनामा दिएका हुन्। नागरिकन्युजमा समाचार छ ।