मुलुकका ३२ जिल्ला खाद्य असुरक्षामा

मुलुकमा पर्याप्त खाद्यान्न उत्पादन भए पनि वितरण प्रणाली प्रभावकारी हुन नसक्दा केही जिल्ला खाद्य असुरक्षामा रहेका छन् ।
अहिलेको जनसंख्याका लागि आवश्यक पर्ने खाद्यान्न  मुलुकभित्रै उत्पादन भैरहे पनि मुलुकका ३२ जिल्ला भने खाद्य असुरक्षामा रहेको कृषि विभागले जनाएको हो ।
विभागका अनुसार मुलुकमा साढे ५३ लाख मेट्रिकटन खाद्यान्न आवश्यक पर्नेमा ५५ लाख  मेट्रिक टन खाद्यान्न उत्पादन भइरहेको छ ।
प्रतिवर्ष १ लाख ५० हजार बराबर मेट्रिकटन खाद्यान्न बचतमा रहेपनि खाद्यान्न वितरण प्रणाली प्रभावकारी नहुँदा कर्णालीका ५ जिल्ला, मध्य, उच्च, पहाडीका केही जिल्ला र तराईका केही जिल्ला अझै पनि खाद्य असुरक्षामा रहेको विभागले जनाएको हो ।
यसअनुसार ४५ लाख व्यक्ति खाद्यान्नको पहुँचमा नरहेको विभागले जनाएको छ । विश्वमा ७ अर्ब २७ करोड बराबर जनसंख्यामा ८० करोड मानिसहरु भोकमरीको चपेटामा रहेको विभागले जनाएको छ ।
३५औं विश्व खाद्य दिवसमा गरिने कार्यक्रमबारे जानकारी गराउन विभागले विहीबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा विभागका महानिर्देशक डा. युवकध्वज जीसीले हालको जनसंख्यालाई पुग्ने खाद्यान्न स्वदेशमै रहेको बताए ।
उनले ३२ जिल्लामा खाद्यान्न अपुग भएपनि भोकमरीको अवस्था नरहेको बताए । रेमिट्यान्सको कारणले स्वदेशी उत्पादनभन्दा विदेशी उत्पादनको प्रयोगमा नेपाली लागेको उनको भनाइ थियो ।
विभागले नेपालीले १० प्रतिशत खाना फाल्ने र १० प्रतिशत खाद्यान्न उत्पादन गरी घरमा ल्याउँदा ह्रास हुने गरेको जनाएको छ ।
विभागले ३५औं विश्व खाद्य दिवस  कृषि र सामाजिक सुरक्षा, गरिबी घटाउने प्रतिबद्धता भन्ने नाराका साथ मनाउने भएकोे छ । इमेजखबरमा समाचार छ ।