उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।
भारत भ्रमणका क्रममा मन्त्री थापाले सोमबार मोदीसँग शिष्टाचार भेट गरेका हुन् । भेटमा भारतले लगाएको अघोषित नाकाबन्दीकारे छलफल भएको छ ।
भारतीय प्रधानमन्त्री निवास रेडकोर्समा भएको भेटवार्तामा मोदीले मधेस आन्दोलनको प्रभाव कम रहेका नाकाबाट आपूर्तिको मात्रा बढाउने आश्वासन दिएको बताइन्छ । यद्यपी रक्सोल नाका सूचारु गराउने विषयमा भने भारत सकारात्मक नभएको स्रोतले जनाएको छ ।
मधेस आन्दोलनको राजनीतिक समाधानमा भारतले जोड दिएको बताइन्छ ।
भेटवार्तापछि भारतीय न्यूज एजेन्सी एएनआईसँग कुरा गर्दै मन्त्री थापाले भ्रमण फलदायी रहेको बताए । उनले केही भ्रम चिर्न आफ्नो भ्रमण सफल रहेको र समस्या समाधान हुनेमा आशावादी रहेको बताए ।
भारत भ्रमण सकेर मन्त्री थापा आजै स्वदेश फर्किदैछन् । भारतको अघोषित नाकाबन्दी खुलाउन उनको भारत भ्रमण केन्द्रीत रहे पनि उपलब्धि भने हासिल हुन नसकेको स्रोतले जनाएको छ । इमेजखबरमा समाचार छ ।