दाङसँग सीमा जोडिएको बाँके-चपरगौरीमा यात्रुबाहक बस पल्टिएर आगलागी हुँदा ८ जनाको मृत्यु

दाङसँग सीमा जोडिएको बाँके, कुसुमको चपरगौरीमा मंगलबार साँझ यात्रुबाहक बस पल्टिएर आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ ।
अरु यात्रु बसभित्रै रहेकाले उनीहरुको अवस्था अझै थाहा हुन सकेको छैन । लु१ख ५८२८ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कुसुमका हवल्दार टोपेन्द्रसिंह ठकुरीका अनुसार उक्त बसभित्र ५० जनाभन्दा बढी यात्रु थिए । बसमा ग्यासको सिलिन्डर र पेट्रोल रहेकाले बस पल्टिएपछि सिलिन्डर पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ ।
बसभित्र रहेका अरु यात्रुको अवस्थाबारे अझै जानकारी हुन सकेको छैन । १० जना यात्रुलाई भने उद्धार गरेर उपचारका लागि नेपालगन्ज पठाइएको छ ।
नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयले आगो नियन्त्रणमा लिएका छन् । बस बुटवलबाट नेपालगन्जतर्फ जाँदै गरेको थियो । इमेजखबरमा समाचार छ ।