घरघरमा दसैंको रौनकताले छाएपनि भक्तपुरका किसानलाई धान काट्नको चटारोले भ्याइनभ्याइ

नेपालीका घरघरमा दसैंको रौनकताले छाएपनि भक्तपुरका किसानलाई भने धान काट्नको चटारोले भ्याइनभ्याइ भएको छ ।

 दसैंको टीका लगाउन जाने हतारोसँगै यहाँका किसान धान भित्र्याउन व्यस्त देखिन्छन् । असिना पानी परेर पाकेको धान झार्ला भन्ने डरले दसैंको पर्वाह नगरी धान काट्न व्यस्त भएको नगरकोट नगरपालिका ताथली-३ की साबित्री बस्नेतले बताइन् । 
 दसैंमा आफन्तको हातको टीका लगाउन पनि पर्ममा भएकाहरुले नगई नहुने ठाउँमा मात्रै पालो गरेर जाने र अरुले धान भित्र्याउन खेतमा जाने गरी पर्ममै मिलाएको उनले बताइन् ।  उनले भनिन्,  आकाश धुमिलिएको छ, असिना परेर पोहोरसालजस्तै धान झार्ला भन्ने डर छ । दसैंभन्दा धान काट्नै चटारो परेको छ ।  अहिले जिल्ला ताथली, सुडाल, चित्तपोल, बागेश्वरी, झौखेल, दुवाकोट, चाँगु, छालिङ्गलगायतका क्षेत्रमा धान पाकेर फाँट नै पहेलोँ देखिएको छ ।  पाकेको धान भित्र्याउने यहाँका किसानलाई चटारो परेको छ । गतवर्ष असिना परेर पाकेको धान झारेपछि किसानहरु पानी पर्ने डरले पनि एक सातादेखि चाडपर्वको पर्वाह नगरी धान काट्न व्यस्त हुन् ।  सूर्यविनायक नगरपालिका नःखेलका शिवराजा खत्रीले दसैं लागेपनि किसानले धान भित्र्याउन भने नछाडेको बताए ।
 उनले भने, ‘दिनभरि चाड मनाएर बस्ने फुर्सद हामीलाई छैन, आधा दिन चाडवाडमा रमाउने, आधा दिन खेतमा धान काट्न व्यस्त भएकाले यसपटक कमै मात्र टाढाटाढाका आफन्तकहाँ टीका लाउन जानेछन् ।’  भूकम्पले धेरैको घर भत्काएर टहरा र छाप्रोमा बास भएकाले कहाँ धान भित्र्याउने भन्ने समस्याले यहाँका किसान चिन्तित छन् । टहरामा धान राख्ने ठाउँ नै नभएपछि कतिपयले खेतबाटै धान बिक्री गर्न थालेका छन् । रासस