पेट्रोलियम पदार्थमा ब्यापक कालोबजारी, भारतसँग सीमा जोडिएका स्थानहरुमा पेट्रोलियम पदार्थ ओसार्ने काममा स्थानीहरु सक्रिय

भारतसँग सीमा जोडिएका स्थानहरुमा पेट्रोलियम पदार्थ ओसार्ने काममा स्थानीहरु सक्रिय बनेका छन्। बारा पर्सासँग सीमा जोडिएका भारत विहारबाट पेट्रोलियम पदार्थ नेपाल भित्र्याउँदा दोब्बर फाइदा भएपछि स्थानीयहरु पेट्रोलियम ओसार्न सक्रिय बनेका हुन्।
बाराको मुख्य नाकाको रुपमा रहेको मटिअर्वासँग सीमा जोडिएका विहारको सामपुरमा रहेको पेट्रोल पम्पमा पेट्रोलियम पदार्थ किन्न पुगेका लिलकण्ठवाका धर्मदेव कुमारले किनेको पेट्रोल ४० किमी दूरीमा रहेको बाराको सिमरासम्म पुर्याउँदा दोब्बर फाइदा हुने गरेको बताए।
सानोतिनो सामानबाट फाइदा नभए पनि अहिले पेट्रोल बेचेर धेरै नाफा भइरहेको उनले बताए।
भारतीय पेट्रोल पम्पमा डिजेल किन्दा भारतीय ४८ रुपैयाँ ५२ पैसा परिरहेको जुन नेपाली बजारमा रुपैयाको बट्टा कट्टा गरी नेपाली ८२ रुपैयाँ प्रतिलिटर डिजल पाइरहेको कुरा बताए। ८२ प्रति लिटरमा किनेको डिजल सिमरा पुर्याउँदा दुई सय ५० रुपैयाँ प्रतिलिटरमा बिक्री भइरहेको उनले बताए।
त्यसैगरी भारतीय पेट्रोल पम्पमा ६५ रुपैयाँ ६५ पैसा भारतीय रुपैयाँमा प्रतिलिटर पाइरहेको पेट्रोलियम पदार्थ किन्दा बट्टा काटेर प्रतिलिटर एक सय १० नेपाली रुपैयाँ पर्ने गरेको र त्यो पेट्रोल सिमरा पुर्यालउँदा तीन सय प्रतिलिटर सम्म बिक्री हुने गरेको कुरा कुमारले बताए।
एक पल्टमा एक जना व्यक्तिले ५० लिटरसम्म पेट्रोल/डिजेल भारतस्थित रहेका पेट्रोल पम्पहरुबाट खरिद गरी नेपाल भित्र्याउने गरेका छन्।
नेपालमा मधेसी मोर्चाको नाकामा गरिएको आन्दोलन र भारतीय पक्षले गरेको अघोषित नाकाबन्दीले पेट्रोलियम पदार्थमा कमी भएपछि सीमावर्ती क्षेत्रमा पर्ने भारतीय पम्पबाट ग्यालेनमा नेपाली समुदायका व्यक्तिहरुले पेट्रोलियम पदार्थ खरिद गरी नेपाल भित्र्याउने र कालोबजारी गरी मालामाल कमाइरहेका छन्।
भारतको सामपुर चोकमा पेट्रोल पम्पमा काम गरिरहेका रमेश साहले पहिला एक दिनमा चार हजार लिटरसम्म पेट्रोलियम पदार्थ बिक्री हुने गरेकोमा नेपालमा भइरहेको आन्दोलनले दैनिक १५ हजार लिटरभन्दा बढी पेट्रोलिय पदार्थ बिक्री भइरहेको बताए।
बढीमा एक सय १० रुपैयाँ गरेको लगानीबाट लगभग तीन सय रुपैयाँ उठाउन सक्ने भएपछि अहिले पेट्रोलियम पदार्थ ओसारपसार गरी कालोबजारी गर्ने समूहहरु सक्रिय छन्।
कालोबजारी गर्ने समूहलाई कतिपय ठाउँमा प्रहरीले सहयोग गरेका छन्। कतिपय स्थानमा आन्दोलन गरिरहेका मधेसी मोर्चाकै नेताहरुले सहयोग गरिरहेको कुरा पेट्रोलियम पदार्थ ओसारपसार गर्ने व्यक्तिहरुले बताएका छन्।
सिमरा औराहाका किसान पवन खडकाले ट्याक्टरबाट खेत जोताउन १६ लिटर डिजल सिमरा प्रहरीकै अगाडिबाट खरिद गरेको बताए।
तोकेको मूल्यभन्दा तीन गुणा बढीमा डिजल किन किन्नुभएको भन्ने प्रश्नमा खडकाले अहिले खेतमा मकै बाली लगाउने भएकाले महँगो किनेर खेत जोताएर मकै बाली लगाउने बाध्यता भएका बताए।
खडकाजस्तै बारा पर्साका धेरै किसान र यातायात व्यवसायीले तेब्बर मूल्य तिरेर पेट्रोलियम पदार्थ खरिद गरी आफ्नो काम चलाउने गरेपनि तिनीहरुको समस्याबारे न आन्दोलनरत मधेसी मोर्चाले र न सरकारले नै ध्यान दिएको देखिन्छ।
यसरी पेट्रोलियम पदार्थको कालोबजारीबाट रातारात लाखौं रुपैयाँ कमाउने काम गरेपनि त्यसलाई नियन्त्रण नगर्दा सामाजमा शान्ति सुरक्षा खल्बलिनसक्ने चिन्ता आमजनताले गरेका छन्। बाराको कचोर्वा, कवहीगोठ, झरोखर नाकाबाट नेपाल भित्र्याइएका पेट्रोलियम पदार्थ निजगढ, कोल्वीसम्म कालोबजारी गरी बढी मूल्यमा बिक्री भइरहेको छ । नागरिकन्युजमा समाचार छ ।