राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन कात्तिक ११ गते

व्यवस्थापिका संसदले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन कात्तिक ११ गतेका लागि तोकेको छ । 

शनिबार बसेको संसद बैठकमा सभामुख ओनसरी घर्तीले दलहरुबीच सहमतिमा राष्ट्रपति-उपराष्ट्रपति चयनका लागि कात्तिक ८ गते  र सहमति हुन नसके चुनावका लागि कात्तिक ११ को तिथी तोकिएको जानकारी दिएकी छन् । संवैधानिक व्यवस्था अनुसार संसद अधिवेशन सुरु भएको एक महिना भित्र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्नुपर्ने प्रावधान छ । संसद बैठक असोज १५ गतेबाट बसेको हो । 
संविधानको संक्रमणकालिन व्यवस्थाको धारा २९७ को उपधारा २ बमोजिम राजनीतिक सहमतिका आधारमा राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि कात्तिक ८ गते-भोलि आईतबार) अपरान्ह ४ बजेसम्मको समय तोकिएको छ । त्यो हुन नसके धारा २९७ कै उपधारा ३ बमोजिम व्यस्थापिका संसदमा कायम रहेको सदस्य संख्याको बहुमतका आधारमा दुवै पदको निर्वाचन हुने छ । निर्वाचन प्रयोजनका लागि संसदले महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्वाचन अधिकृत तोकेको छ ।  
निर्वाचन कात्तिक ११ गते ११ बजेबाट हुने छ । निर्वाचन तालिकाअनुसार कात्तिक ८ गते राजनीतिक सहमतिका आधारमा राष्ट्रपति र उपराष्ट्रपति पदको उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने, प्रस्ताव बमोजिमको बर्णानुक्रमअनुसार नामावली प्रकाशन गर्ने र व्यवस्थापिका-संसद्को बैठकमा राजनीतिक सहमतिको आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचित भएको घोषणा गरिनेछ । राजनीतिक सहमति कायम नभएमा भने कात्तिक १० गते दिनको १:०० बजेभित्र राष्ट्रपति र उपराष्ट्रपति पदको उम्मेदवारी प्रस्ताव दर्ता गर्ने, त्यसपछि नामावली प्रकाशन गर्ने, नामावली उपर दाबी विरोध गर्ने, उम्मेद्वारी फिर्ता लिने र कात्तिक १० गते अपरान्ह ३: ०० बजे नै अन्तिम नामावली प्रकाशन गरिनेछ । 
कार्यक्रम अनुसार कात्तिक ११ गते नै अन्तर्राष्ट्र्यि सम्मेलन केन्द्रको ल्होत्से हलमा विहान ११ बजेदेखि २: ०० बजेसम्म मतदान भई अपरान्ह २: ३० पश्चात मतगणना र अपरान्ह् ५ बजे निर्वाचन परिणाम व्यवस्थापिका-संसदको बैठकमा घोषणा गरिनेछ । बैठकमा विशेष समय लिएर बोल्दै उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले आफ्नो भारत भ्रमण बारे जानकारी गराएका थिए । पारहवहनमा देखिएको समस्याबारे भारतले विश्वास दिलाए जस्तै व्यवहारमा पनि चाँडै देखिने आफू विश्वस्त रहेको उनले बताए । उनले मधेसी दलसँग वार्ता भइरहेको समेत बैठकलाई जानकारी दिए । ईकान्तिपुरमा समाचार छ ।