राष्ट्रपति पदमा तीनजनाको उम्मेदवारी दर्ता भएको छ ।
सत्तारुढ गठबन्धनबाट एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी, नेपाली कांग्रेसबाट केबी गुरुङ र नेमकिपाबाट नारायण महर्जनले उम्मेदवारी दर्ता गराएका हुन् ।
भण्डारीको प्रस्तावकमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र समर्थकमा राप्रपा नेपालका अध्यक्ष कमल थापासहित सत्ता गठबन्धनका अन्य नेताहरु रहेका छन् ।
त्यसैगरी प्रमुख विपक्षी दल नेपाली कांग्रेसका तर्फबाट पूर्वमहामन्त्री कुलबहादुर गुरुङले दर्ता गराएको उम्मेदवारीको प्रस्तावकमा कांग्रेसका महामन्त्री प्रकाशमान सिंह र समर्थकमा अर्का महामन्त्री कृष्णप्रसाद सिटौला रहेका छन् ।
त्यस्तै नेपाल मजदुर किसान पार्टीका नारायण महर्जनले दर्ता गराएको उम्मेदवारीको समर्थकमा नेमकिपाका सांसद प्रेम सुवाल र समर्थकमा डिल्लीप्रसाद काफ्ले रहेका छन् ।
सहमतीबाट राष्ट्रपतिको टुंगो लाग्न नसकेपछि बहुमतीय प्रक्रियाबाट राष्ट्रपति निर्वाचन हुन लागेको हो ।
राष्ट्रपति निर्वाचनमा आन्दोलनरत मधेसी मोर्चा भने सहभागी नहुने भएको छ । मोर्चाले प्रधानमन्त्री निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन जनाएको थियो ।
उम्मेदवारी दर्तापछि सत्तारुढ गठबन्धनकी राष्ट्रपतिका उम्मेदवार विद्यादेवी भण्डारी र विपक्षी नेपाली कांग्रेसका राष्ट्रपतिका उम्मेदवार कुलबहादुर गुरुङ दुबैले आफू विजयी हुने दाबी गरेका छन् ।
राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएपछि नेकपा एमालेकी उपाध्यक्षसमेत रहेकी भण्डारीले राष्ट्रिय एकता, भौगोलिक एकता र सम्मृद्ध लोकतन्त्रका लागि मार्ग प्रशस्त गर्न उम्मेदवारी दिएको बताइन् ।
उनले आफू राष्ट्रपतिमा निर्वाचित भए संविधानको भावनाअनुसार अघि बढेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
संक्रमणकालीन अवस्थामा सबै मिलेर अघि बढ्नुपर्ने भन्दै उनले आफ्नो उम्मेदवारीमा सत्ता गठबन्धनका सबै दलको समर्थन रहेकाले जित सुनिश्चित भएको जिकिर गरिन् ।
त्यसैगरी नेपाली कांग्रेसबाट राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका कुलबहादुर गुरुङले संसदमा ठूलो पार्टीका तर्फबाट उम्मेदवारी दिएकाले यसलाई स्वाभाविक राजनीतिक प्रतिस्पर्धाका रुपमा लिएको बताए ।
उनले राष्ट्रपतिमा सहमतिको सम्भावना कायमै रहेको तर आफ्नो उम्मेदवारी जितका लागि भएकाले फिर्ता नहुने स्पष्ट पारे ।
राष्ट्रपतिको निर्वाचनका लागि बुधबार ११ बजेदेखि १ बजेसम्म संसद् भवन बानेश्वरमा गोप्य मतदान हुने छ । बुधबार अपराह्न पाँच बजे बस्ने संसद् बैठकमा निर्वाचन परिणाम घोषणा गरिने छ । इमेजखबरमा समाचार छ ।