राजनीतिक समीकरणमा आकस्मिक फेरबदल नआए गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति एमाले नेतृ विद्यादेवी भण्डारी हुने निश्चितप्राय: भएको छ । कान्तिपुरमा समाचार छ ।
भण्डारीलाई एमाले, एमाओवादी, राप्रपा नेपाल, राप्रपा, फोरम लोकतान्त्रिकसहित साना दलले समर्थन गरेका हुन् । सत्ता गठबन्धनका तर्फबाट एमाले उपाध्यक्ष भण्डारीलाई राष्ट्रपतिको रूपमा अघि सारिएको हो ।
भण्डारीका प्रस्तावक एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल हुन् ।
त्यस्तै समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा, मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का सांसद योगेन्द्र चौधरी, नेकपा(माले)का महासचिव सिपी मैनाली, बहुजनशक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा(संयुक्त)का सांसद जयदेव जोशी, राप्रपा संसदीय दलका नेता दीपक बोहरा, राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक)का सांसद शिवलाल थापा, नेपाः राष्ट्रिय पार्टीका सांसद लक्ष्मण राजवंशी, नेपाल परिवार दलका सांसद एकनाथ ढकाल रहेका छन् मंगलबार मध्यान्ह संसद भवनमा उम्मेदवारी दर्ता गराउन भण्डारीसँगै प्रधानमन्त्री केपी ओलीसहित सत्ता गठबन्धनका नेताहरु गएका थिए।
यस्तै नेपाली कांग्रेसको तर्फबाट कुलबहादुर गुरुङको पनि राष्ट्रपतिको लागि उम्मेदवारी दर्ता भएको छ ।
उनको प्रस्तावक प्रकाशमान सिंह र समर्थक कृष्ण सिटौला रहेका छन् । उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले कांग्रेस पुरानो एवम् लोकतान्त्रिक पार्टी भएको र आफू त्यसको सक्रिय र पुरानो कार्यकर्ता भएकाले राष्ट्रपतिमा उम्मेदवारी दिएको बताए ।
आफू विगतदेखि नै लोकतन्त्रको पक्षमा लगातार लड्दै आएकाले विजय सुनिश्चित भएको र संसद्मा रहेका सबै दलले सहयोग गर्ने आशा रहेको उनले बताए । संसद्को सार्वजनिक सुनुवाइ समितिका सभापतिसमेत रहेका गुरुङ कांग्रेसका पुराना नेता हुन् । कान्तिपुरमा समाचार छ ।