सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको वार्ता निष्कर्षविहीन

सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच विहीबार भएको वार्ता निष्कर्षविहीन भएको छ ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको वार्तामा सरकारी वार्ता टोलीले सीमांकनका विषयमा स्पष्ट खाका पेश गर्न नसकेपछि निष्कर्षविहीन भएको हो ।
बैठकपछि सन्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले अधिकांश विषयमा मोर्चासँग सहमति भइसकेकाले आन्दोलन रोकेर सहमतिमा अघि बढ्न आग्रह गरेको जानकारी दिए । उनले सीमांकनका विषयमा भने थप छलफल गर्नुपर्ने बताए ।
मोर्चाको वार्ता टोलीका सदस्य तथा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सरकारले सीमांकनका विषयमा स्पष्ट धारणा ल्याउन नसकेको बताए ।
उनले कार्तिक १५ गते निर्णायक वार्ता हुने र त्यो दिन कुनै निष्कर्ष नआए आन्दोलनलाई अझ कडा बनाउने चेतावनी दिए । – इमेजखबरमा समाचार छ ।