निजी सवारी साधनलाई धमाधम पेट्रोल वितरण गरिदैं

नेपाल आयल निगमले हिजोदेखि निजी सवारी साधनलाई पेट्रोल दिन थालेको छ । निगमले निजी सवारी साधनलाई लट अनुसार हिजोदेखि तीन दिनसम्म पेट्रोल वितरण गर्न थालेको हो ।
पेट्रोल लिनका लागि सर्वसाधारणले आफ्ना सवारी साधन लाइनमा राखेका छन् । पेट्रोल पम्पहरुमा सवारी साधनको भीड भएपनि कुन बेलादेखि वितरण थालिन्छ भन्नेबारे कुनै जानकारी गराइएको छैन ।
पम्पहरुमा ट्यांकरहरु आउनु अघि कुपन वितरण गरिने र त्यसपछि मात्र पेट्रोल वितरण गर्न थालिने नेपाल आयल निगमले जनाएको छ ।
तीन दिनमा ९ लाख लिटर पेट्रोल वितरण गरिने निगमले जनाएको छ । निजी सवारीसाधनलाई वितरण गर्ने दिनमा सार्वजनिक र सरकारी सवारी साधनलाई भने पेट्रोल दिइने छैन ।
निगमका अनुसार हिजो १ देखि ३० लटसम्मका मोटरसाइकललाई पेट्रोल वितरण गरिएको छ । आज ३१ देखि ५० लट र शनिबार ५० देखि माथि लटका मोटरसाइकललाई पेट्रोल दिइने छ ।
कार र जीपका लागि हिजो १ देखि ५ लटसम्मलाई पेट्रोल दिइएको छ । आज ६ देखि ९ र शनिबार ९ देखि माथिका लटलाई दिइने निगमले जनाएको छ ।
मोटरसाइकललाई ५ लिटर र कार तथा जीपलाई १५ लिटर इन्धन वितरण गरिने निगमले जनाएको छ ।
निगमले आज ३ लाख ८० हजार लिटर पेट्रोल र साढे २ लाख लिटर डिजेल बिक्री वितरण गर्ने थानकोट डिपो प्रमुख रविन शर्माले जानकारी दिए । आज ढिलोमा दिउँसो २ बजे निगमले तोकेको पेट्रोल पम्पमा पेट्रोल पुगिसक्ने पनि उनले जानकारी दिए । इमेजखबरमा समाचार छ ।