भारतको आघोषित नाकाबन्दी नेपालबाट तराई टुक्राउने पहिलो चरण: उपप्रधानमन्त्री सिपी मैनाली

उपप्रधान एवं महिला, बालवालिका तथा समाज कल्याण मन्त्री सिपी मैनालीले भारतको आघोषित नाकाबन्दी नेपालबाट तराई टुक्राउने पहिलो चरण भएको दावी गरेका छन्।
उनले समग्र मधेस एक प्रदेश वा दुई प्रदेश भने पनि मधेसलाई नेपालबाट छुट्टाएर आफू तर्फ गाभ्ने डरलाग्दो योजनाको पहिलो चरण भएको भन्दै यो नेपाल भारत दुबै मुलुकको स्थिरताको हितमा नभएको दावी गरे।
रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा उपप्रधानमन्त्री मैनालीले भने, इन्दिरा गान्धीको शासन कालमा सन् १९७५ मा रअ का प्रमुख रहेका आरके यादवले लेखेको पुस्तकमा त्यसबेलामा नेपालबाट तराईलाई छुट्याउन लागेको भनि लेखेका छन्। त्यो सत्य होइन भने भारतले त्यसको खण्डन गर्नु पर्दथ्यो, यादवलाइई देशद्रोहको मुद्दा लगाएर जेलमा हाल्नु पर्दथ्यो तर त्यो भारतले अहिलेसम्म नगरेकोले हामीले त्यही नै सत्य हो भन्ने बुझ्नु पर्छ।
उनले त्यही ढंगले अहिले भारत अघि बढे यसले नेपाल र भारतमा नभई विश्वमै अशान्ति ल्याउने चेतावनी दिए। उनले मधेसमा दुई प्रदेश दिए नेपाल खण्डित हुने दावी गर्दै यो कुनै पनि हालतमा दिन नहुने र उनीहरुले मागे जस्तो कैलाली कञ्चनपुर, सुनसरी, मोरङ र झापा मधेस प्रदेशमा दिन नहुने अडान व्यक्त गरे।
उनले २०४५ सालसम्म आन्दोलनमा सहयोगको नाममा नेपालका राजनीतिक दलहरुले भारतीय क्याप्सुमा के छ भनि हेर्दासमेत नहेरी खाएको र अहिलेका मधेसवादी दलहरुले त्यही क्याप्सुल खाइरहेको उल्लेख गर्दै यसले मधेसवादी दलहरुलाई नै हित नगर्ने बताए।
उनले नेपाल अब भारतमुखि नहुने भन्दै भारतको नाका पनि खोलेर चीन, पाकिस्तानसहितका विभिन्न मित्र राष्ट्रहरुको ढोका खोलेर स्वावलम्बन अर्थतन्त्र निर्माण गरेर अघि बढ्ने दाबी गरे। हामी भारतको नाका बन्द गरेर चीन तिर जाने होइन । भारतको पनि खोल्ने अरुको पनि खोल्ने हो । चीनसँग स्थायी रुपमै द्धार खोल्छौ अब नेपाललाई बहुद्धारा बनाउने हो, उनले भने।
स्थलमार्गदेखि सबै माग प्रयोग गरेर अहिलेको अभाव टार्न सरकारले प्रयत्न गर्ने भन्दै आवश्यक परे हवाई जहाज प्रयोग गरेर भए पनि तेल ल्याएर नेपाली जनतालाई उपलब्ध गराउने दृढता ब्यक्त गरे ।
उपप्रधानमन्त्री मैनालीले संविधानमा हस्तक्षेप र नाकाबन्दी राजनीतिक प्रहार भएको भन्दै अहिले मधेस आन्दोलनको नाममा आएका कुरा थोरै मधेसी जनताको र धेरै भारतको हितमा रहेको दावी गरे । नागरिकन्युजमा समाचार छ ।