इन्धन अभावले हवाइ उडानमा कटौती, आन्तरिक उडान ठप्प हुनसक्ने

भारतले नेपालमा इन्धन तथा दैनिक उपभोग्य वस्तुको निर्यातमा लगाएको अवरोधको असर देशका विभिन्न क्षेत्रमा परेको छ ।
यही कारण आम नागरिकको चुह्लो बल्न छाडेको छ । इन्धनको सहज आपूर्ति नभएपछि सवारी साधन सञ्चालनमा कठिनाई त भएकै छ अब भने यसको असर विस्तारै हवाई उडानमा पनि पर्न थालेको छ ।
इन्धन अभावकै कारण आइतबार र सोमबार देशका विभिन्न स्थानमा आन्तरिक उडान गर्ने हवाई सेवा समेत प्रभावित भएका छन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट देशका विभिन्न विमानस्थलमा आउने जाने ३ सय उडान हुने गरेको छ । यसरी उडान भर्ने विमानलाई करिब ६० हजार लिटर हवाई इन्धन आवश्यक पर्दछ ।
तर अहिले नेपाल बायुसेवा निगमले भारतबाट विमानमार्फत् ल्याएको इन्धनले माग थेग्ने प्रयास गर्दैछ । नाकाबन्दीपछि अन्तर्राष्ट्रिय उडान भर्ने विभिन्न वायुसेवाका विमानलाई हवाई इन्धन दिन लगभग पूर्ण रोक लगाई सकिएको छ ।
यदि आयल निगमले तत्काल पूर्ववत रुपमा इन्धन व्यवस्था गर्न सकेन भने अबको केही दिनपछि आन्तरिक उडान नै बन्द हुने अवस्थामा आउने निजी वायुसेवा कम्पनीहरुले जनाएका छन् ।  इमेजखबरमा समाचार छ ।