पाँच दिनदेखि नेपाल-भारत नाकाबाट इन्धन आयात प्रायःठप्प भएको र नेपाल आयल निगमको मौज्दात पनि सकिएकाले आयल निगमबाट तत्कालका लागि कुनै पनि इन्धन उपलब्ध नहुने भएको छ ।
आयल निगमले आज पत्रकार सम्मेलन गरी इन्धन आयात गर्न नसकिएको र निरन्तर प्रयास गर्दा पनि उपयुक्त वैकल्पिक उपायसमेत पहिल्याउन नसकिएकाले उपभोक्तालाई तत्काल इन्धन उपलब्ध गराउन नसकिने भएको जनाएको छ ।
निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले भने, हामीले गरेको गृह कार्य पर्याप्त देखिएन, वैकल्पिक उपायले काम गर्न सकेकै छैन, त्यसैले तत्कालका लागि कुनै पनि इन्धन सहज हुन सकेन ।
निगमले बङ्गलादेशबाट ग्यास आयात गर्ने तयारी गरे पनि सफल हुन सकेको छैन । इन्धन आयातका लागि निगमले आह्वान गरेको आशयमा २२ वटा कम्पनी तथा संस्थाको निवेदन परेको थियो ।
पेट्रोलियम पदार्थ आयात गर्नका लागि ठूलो रकम आवश्यकता पर्ने भएकाले निजी क्षेत्रले तत्काल ल्याउन सक्ने अवस्था नदेखिएको निगमका निर्देशक खड्काले बताए ।
निगमका अनुसार नेपाल-भारत नाकामा ६६ ट्याङ्कर पेट्रोल, २५१ ट्याङ्कर डिजेल, चार ट्याङ्कर मट्टितेल र ३५१ बुलेट ग्यास अड्किएको छ । केही दिनका लागि सुरक्षा तथा विशेष कार्यका लागि पेट्रोलियम पदार्थ उपलब्ध गराउन सकिने निगमले जनाएको छ ।
हवाई इन्धन पनि मागअनुसारको आपूर्ति गर्न नसकिएकाले आन्तरिक उडान कटौती गरिएको छ । चीनले उपलब्ध गराउन लागेको एक हजार ३०० किलोलिटर पेट्रोलमध्ये ६५५ किलोलिटर नेपाल आइसकेको छ ।
निगमले चीनबाट व्यापारिकरुपमा आयात गर्ने प्रक्रिया अगाडि बढाएको छ । निगमले सङ्कटको समयमा जनताको चाहना प्रयास गर्दा कुनै पनि अनियमितता नगरेको निर्देशक खड्काले दाबी गरे । रासस