विराटनगरवासीले काग तिहारकै साँझदेखि घर, बजार एवं बस्ती झकिझकाउ पारेका छन् । राजधानीमा लक्ष्मी पुजाका दिन देखिने झिलिमिली यहाँ साता अगाडिदेखि देखिन थालिएको हो । स्थानीयबीच घर सजाउने प्रतिस्पर्धा देखिन्छ । वरिपरिकामध्ये कसको सजावट राम्रो भयो भन्दै सडक अघिल्तिर उभेर एक-अर्काका घर नियालीरहेका हुन्छन् ।
भव्य सिंगारपटारले गर्दा रात-साँझ केही घर त घर हुन् कि मनिदर छुट्टयाउन कठिन हुन्छ । अहिले त सुरुवात हो, लक्ष्मीपूजाका दिन त घरहरु झन् बढी सजाइन्छ, स्थानीय घोघापुल चौकका सरफुद्दीन मियाँले भने । हिन्दु धार्मिक विधिले पुजाआजा नगरे पनि सबै जाति, समुदाय र धर्मकाले यहाँ घर वरिपरि उज्यालो पारेका छन् ।
जुठो परेको छ, नभए त म पनि घरलाई मजाले सजाउँथे, स्थानीय रामु राजवंशीले भने । नीकै पुरानो पट्का संस्कृतिले यतिबेला गति लिइसकेको छ । बिहानदेखि अबेर रातिसम्म यहाँ पट्का पडकिरहेका छन् । बन्द, नाकाबन्दी, महंगी र अभावको पीडा सहँदै पर्व खर्चमा कटौती गरे पनि स्थानीयले खुशीका साथ तिहारको स्वागत गरिरहेका देखिन्छन् ।
मधेसी मोर्चाका नेताहरु सडक र संसद दुवैतिर सँघर्ष गरिरहेको बेला यहाँ तिहारको बजार मजाले सजिइसकेको छ । सुनचाँदी, भाँडाकुडा, बिजुली र फलफुलको पसलमा किनमेल चलिरहेको छ । महिना अगावैदेखि बजारमा रंगीविरंगी विद्युतीय बत्तीहरु एवं पूजा सामग्री किनमेलका लागि घुईंचो लाग्न थालेको हो । कागतिहारको पूर्व सन्ध्यादेखि यो क्रम बढेको हो । अरु बेला शान्त रहने आवासीय क्षेत्रमा समेत चहलपहल बढेको छ ।
भाइटिकासम्म भिडभाड रहने र त्यसपछि लगत्तै सुरु हुने महापर्व छठको किनमेल सुरु हुने स्थानीय व्यापारीहरुले बताए । सार्वजनिक सवारी नचल्नाले पूर्वाञ्चलवासीकै यो मुख्य बजारमा टाढाटाढाका मानिसहरु आउन नसक्दा अघिल्ला वर्षहरु जस्तो व्यापार हुन नसकेको पनि उनीहरुले बताए । ईकान्तिपुरमा समाचार छ ।