रानीपोखरीस्थित बालगोपाल मन्दिरमा यसपटक भाइटीका नहुने

हरेक वर्ष भाइटीकाको दिन खुला गरिने रानीपोखरीस्थित बालगोपाल मन्दिरमा यसपटक भाइटीका नहुने भएको छ ।
गत वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको मन्दिरको अझैपनि जीर्णोद्धार नहुँदा मन्दिरमा टीकाको कार्यक्रम नराखिएको हो । तर, बसन्तपुरस्थित काष्ठमन्डपमा अस्थायी पाल राखेर सामूहिक भाइटीका गर्ने तयारी गरिएको छ ।
दाजुभाइ नहुने दिदीबहिनी तथा दिदीबहिनी नहुने दाजुभाइ अथवा दाजुभाइ दिदीबहिनीबाट टाढा रहेकाहरुको भीड हरेक वर्ष रानीपोखरीको बालगोपाल मन्दिरमा लाग्ने गर्दथ्यो । वर्षमा एक दिनमात्रै यो मन्दिर खुला हुने गर्दथ्यो जहाँ चिनजानै नभएकाहरुबीच माइती-चेलीको सम्बन्ध स्थापित हुने गर्दथ्यो ।
तर, यसपटक भने उक्त परम्परा तोडिने भएको छ । भूकम्पपछि क्षतिग्रस्त भएको सो मन्दिर अहिले बन्द रहेको छ । भाइटीकाको दिन पनि यो मन्दिर सुनसान नै रहने छ । इमेजखबरमा समाचार छ ।