प्रधानमन्त्री केपी शर्मा ओलीले भारतद्धारा नेपालमाथि लगाइएको अघोषित नाकाबन्दी अमानवीय रहेको बताएका छन् ।
आइतबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै ओलीले कुनै पनि अन्तर्राष्ट्रिय कानुन, सन्धी र बडापत्रले नेपालमाथिको नाकाबन्दीलाई जायज ठहर्याउन नसक्ने जिकिर गरे ।
कुनै समस्या नभएको नाकाबाट समेत भारतबाट आपूर्ति नहुँदा आफूलाई विस्मित तुल्याएको उनको भनाई थियो ।
प्रधानमन्त्री ओलीले नेपालको संविधान कुनै पनि लोकतान्त्रिक देशको संविधानसँग तुलना गर्दा उत्कृष्ट देखिएको दाबीसमेत गरे । उनले संविधान गतिशील दस्तावेज भएको टिप्पणी गर्दै यसको सुधार र विकास गर्दै जाने आधार प्रशस्त रहेको बताए ।
उनले आन्दोलनरत दलहरुसँगको समझदारीका अधारमा संविधान संशोधन विधेयक अघि बढाउन तयार रहेको पनि जनाए । वार्तामार्फत छिटो सहमतिमा पुग्न आन्दोलनरत दलहरुलाई आग्रह गर्दै उनले भने, जुन क्षेत्र र समुदायका लागि भनेर आन्दोलन गरिएको छ, त्यही क्षेत्र र समुदाय सबैभन्दा बढी मारमा परेका छन् ।
नाकाबन्दीका कारण सिर्जित अभावलगायतको समस्याका बाबजुद नेपाली जनताले देखाएका संयम अभूतपूर्व रहेको भन्दै प्रधानमन्त्री ओलीले यसका लागि सबै जनताप्रति हृदयदेखि नै आभार प्रकट गरे । इमेजखबरमा समाचार छ ।