भारतले गरेको अघोषित नाकाबन्दीका कारण बैतडीमा औषधिको चर्को अभाव भएको छ ।
लगातारको बन्द तथा भारतको नाकाबन्दीका कारण जिल्लामा औषधिको अभाव रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीले बताए।
उनले भने, औषधिको ८० प्रतिशतभन्दा बढी अभाव छ, सामान्य रुपमा टाउको दुख्ने, ज्वरो आउँदा सेवन गरिने सिटामोल, एन्टिवायोटिक्ससमेत छैन ।
बिरामीलाई औषधि दिँदासमेत पाँचदिन खानुपर्ने भए दुई दिनका लागि मात्र दिने गरेका छौँ- उनले भने। यस्तै, जिल्ला अस्पताल बैतडीमा बच्चालाई लगाउने खोपको समेत अभाव भएको छ । बच्चा जन्मेदेखि एक वर्षसम्म दिइने बिसिजी खोपको अभाव भएको डा अवस्थीले बताए ।
खास गरेर हिउँदको महिनामा बढी चाहिने निमोनियालगायत रोगको औषधिको अभाव देखिएको छ । स्वास्थ्य चौकीमा ४२ प्रकारको औषधि निःशुल्क रुपमा पाइने भएपनि जिल्लाका ६८ वटै स्वास्थ्य संस्थामा औषधिको अभाव रहेको छ ।
स्वास्थ्य संस्थाले औषधिको माग गरेपनि जिल्लामा मौज्दात नभएकाले आपूर्ति गर्न नसकिएको उनको भनाइ छ ।
त्यस्तै, जिल्ला अस्पतालमा न्यानो झोला नहुँदा सुत्केरी थप मारमा परेका छन् । बच्चा जन्मने बित्तिकै चिसोबाट बचाउन प्रयोग हुने न्यानो झोलाको एक हप्तादेखि अभाव रहेको डा अवस्थीले बताए। रासस