नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको रौतहटको गौर नगरपालिका-३ स्थित घरमा आज(शुक्रबार) मधेसी मोर्चासम्बद्ध कार्यकर्ताले गरेको आक्रमण र तोडफोडप्रति एमालेले ध्यानाकर्षण गराएको छ ।
एमाले केन्द्रीय सचिवालयका सचिव प्रदीपकुमार ज्ञवालीले आज जारी गरेको विज्ञप्तिमा यस प्रकारको व्यवहार र रवैया अविलम्ब नियन्त्रण गर्न सम्बन्धित पक्षलाई समयमै सचेत गराउन चाहन्छ भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ, जुनसुकै आन्दोलनले पनि आफ्नो संयम र विवेक गुमाउनु हुँदैन । राजनीतिक नेतृत्व तहका वरिष्ठ नेताहरूको घरमा आक्रमण वा तोडफोड गरेर कुनै समस्याको समाधान हुन सक्दैन । यसले परिस्थितिलाई झन् खराब र नाजुक बनाउने निश्चित छ ।
मधेसकेन्द्रित दललाई यस्ता क्रियाकलापलाई तुरुन्त नियन्त्रण गरेर वार्ता, संवाद र समझदारीको माध्यमबाट निकास खोज्न पनि एमालेले आग्रह गरेको छ । – रासस