असुरक्षाको कारण देखाउदै सुनसरी, मोरङ र झापा जिल्लाका एम्बुलेन्स चालकहरु आन्दोलित, स्वास्थ्य सेवा थप प्रभावित

असुरक्षाको कारण देखाउदै तीन दिनदेखि सुनसरी, मोरङ र झापा जिल्लाका एम्बुलेन्स चालकहरु आन्दोलित भएपछि स्वास्थ्य सेवा थप प्रभावित बनेको छ ।
सुनसरीको दुहबीमा मधेसी मोर्चाका कार्यकर्ताले गत शुक्रबार एम्बुलेन्समा आगजनी गरेको र शनिबार विराटनगर सिटी अस्पतालको एम्बुलेन्सका चालक आनन्द विकलाई सांघातिक आक्रमण गरी घाइते बनाएपछि तीनै जिल्लाका एम्बुलेन्स चालकहरु आन्दोलनमा उत्रिएका हुन् ।
भारतको नाकाबन्दीका कारण औषधि अभावको समस्या खेपिरहेका झापा मोरङ, सुनसरीका नागरिक एम्बुलेन्स चालकको आन्दोलनका कारण दोहोरो मारमा परेका छन् ।
सुनसरी एम्बुलेन्स चालक संघका अध्यक्ष रामनारायण मण्डलले एम्बुलेन्स चालकहरुको सुरक्षा सरकारले गर्न नसकेकाले एम्बुलेन्स थन्क्याएर आन्दोलन गर्नुपरेको बताए । – इमेजखबरमा समाचार छ ।