भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानहरुले नेपालमा प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदा सुनसरीमा चारजना नेपाली गम्भीर घाइते भएका छन् ।
नेपाल-भारत सीमाको भन्टाबारीस्थित हरिपुर गाविस-७ मा भारतबाट आएका करिब १० जना जवानले अन्धाधुन्ध गोली चलाएका हुन् ।
घाइते हुनेमा हरिपुर गाविसका अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव रहेका छन् ।
अशोकको पेटमा गोली लागेको छ भने अन्यको ढाड र शरीरका विभिन्न भागमा गोली लागेको छ ।
भारतीय बजार वीरपुरबाट अवैधरुपमा मल लिएर आएका ७ जनाको संख्यामा रहेका भारतीय तस्कर हरुले सीमा क्षेत्रमा सुरक्षामा खटिएका दुईजना जवानमाथि हातपात गरी नेपालतर्फ भागेका थिए ।
घटनालगत्तै एसएसबीको टोलीले गाउँमै प्रवेश गरी घरमा र खेतमा काम गरिरहेकामाथि अन्धाधुन्ध गोली प्रहार गरेको हो ।
घाइते सबैको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । इमेजखबरमा समाचार छ ।