मानव अधिकार तथा शान्ति समाजद्धारा भारतको आचरणले दक्षिण एसियाको शान्ति खलबलिन थालेको आरोप

मानव अधिकार तथा शान्ति समाजले भारतको आचरणले दक्षिण एसियाको शान्ति खलबलिन थालेको आरोप लगाएको छ।
भारतीय सीमा सुरक्षा बलले बुधबार सुनसरीको हरिपुर प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदा चार जना नेपाली नागरिक घाइते भएको घटनाको भर्त्सना गर्न निकालेको विज्ञप्ति समाजले यस्तो आरोप लगाएको हो।
समाजका अध्यक्ष गङ्गाधर अधिकारीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, एउटा स्वतन्त्र एवम् सार्वभौम राष्ट्रमा अनधिकृत रुपमा प्रवेश गरी भारतीय सुरक्षाकर्मीहरुले गोली चलाउनु अपराध हो भने, यसले भारतको आक्रामक एवम् असहिष्णु चरित्रपनि उदाङ्गो पारेको छ। एकातिर नेपालमाथि नाकाबन्दी लगाएर भारतले अमानवीय एवम् मानवता विरोधी चरित्र अबलम्बन गरेको छ भने अर्कातिर भारतीय सुरक्षा निकायले नेपाली भुमिमा प्रवेश गरी अन्धाधुन्ध गोली चलाएर नेपालको सार्वभौमसत्ता एवम् नेपाली जनतामाथि निर्मम प्रहार गरेको छ ।
समाजले नेपालमाथि लगाएको नाकावन्दी तत्काल अन्त्य, घाइतेहरुलाई क्षतिपूर्ति प्रदान र नेपाली भुमिमा प्रवेश गरी गोली चलाउने भारतीय सुरक्षाबलका व्यक्तिलाई कार्वाही गर्न भारत सरकारसँग माग गरेको छ।
भारतले आफू शान्ति, अहिंसाको पक्षमा रहेको पुष्टि गर्नु आवश्यक भएको विज्ञप्तिमा उल्लेख छ। सेतोपाटीमा समाचार छ ।